प्रचण्ड-माधव पक्षले पूर्व जनमुक्ति सेनालाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने

पोखरा न्यूज संवाददाता । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व जनमुक्ति सेनालाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताउनुभएको छ ।

बुधबार बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष  प्रचण्डले बर्हिगमित तथा स्वेच्छिक अवकासमा परेका पूर्व जनमुक्ति सेनाहरुलाई पार्टीमा समायोजन गर्ने गरी विशेष प्रदेश कमिटी बनाउने बताउनुभएको हो ।

उहाँले जनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनक रुपमा समायोजन गर्ने नीतिगत निर्णय आफूले गरेको भएपनि तल्लो तहसम्म उचित जिम्मेवारी पाए नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मआलोचना समेत गर्नुभयो । अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको सम्मानमा जनयुद्धका कमाण्डरहरुलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको पनि स्मरण गराउनुभयो ।

अध्यक्ष प्रचण्डले आफु पहिलो पल्ट प्रधानमन्त्री हुँदा जनयुद्धमा ज्यान गुमाउनेलाई राष्ट्रिय शहीद घोषणा गर्ने र जनमुक्ति सेनालाई परिचयपत्र साथ सम्मान गर्ने पहिलो निर्णय गरिएको भएपनि उक्त निर्णय लुकाईएको बताउनुभयो ।

उहाँले जनयुद्धको घाइतेहरुलाई उपचार खर्च बढाउन, जनजीविकाका लागि राहत दिलाउन सरकारसँग पटक-पटक आग्रह गरेपनि अस्वीकार गरेको पनि बताउनुभयो ।   अध्यक्ष प्रचण्डले सबै बर्हिगमित जनमुक्ति सेनालाई एकैठाउँमा ल्याउनुपर्ने धारणा राख्नुभयो । केही महिनाभित्रै प्रतिगमनविरुद्धको आन्दोलन जित्ने र जीतपछि जनमुक्ति सेनाको भावना र आवश्यकता पूरा गर्ने भएकाले नआत्तिन आग्रह समेत गर्नुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button