भ्रष्टाचार र अनियमितता मौलाएको छ-नेता देवेन्द्र पौडेल

पोखरा न्यूज संवाददाता । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भ्रष्टाचार र अनियमितता मौलाएको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले तीन वर्षको अवधिमा कुनै प्रभावकारी काम हुन नसकेको बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामको प्रशंसा एकतर्फी रुपमा गर्दै हिड्नुले उहाँको असफलता प्रकट भएको नेता पौडेलको भनाई छ । प्रधानमन्त्री ओली आत्मरति गर्दै हिडेपनि तथ्य तथ्यांकहरुले भ्रष्टाचार र अनियमितता निकै मौलाएर गएको उहाँले बताउनुभयो ।

सरकारले निर्वाचनको बेलामा घोषणा गरेको ज्येष्ठ नागरिकलाई पाँचहजार भत्ताको विषय नीति कार्यक्रम र बजेटमा हाल्न नसकेको उहाँको भनाई छ । सरकारको आत्मरति र आत्मप्रशंसाबाहेक केही नभएको भन्दै उहाँले सरकारले यो काम राम्रो ग¥यो भन्ने स्थिति नभएको बताउनुभयो ।

नेता पौडेलले बैशाखमा निर्वाचन नहुने दाबी पनि गर्नुभयो । निर्वाचन गर्नको निम्ति प्रतिनिधि सभा विघटनको कदम चालिएको नभई सरकार टिकाउन र निरंकुश प्रणाली नेपालमा लागु गर्ने उद्देश्य राखिएको उहाँको भनाई छ । राजनीतिक र संवैधानिक संकट मोचनका लागि संयुक्त जनआन्दोलन आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले केपी ओलीको सरकार पूर्ण रुपमा असफल भएको बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न नसकेको तथा अर्थमन्त्रीले बजेट कटौती गर्नुपर्ने अवस्थासम्म आईपुगेको उहाँको भनाई छ । गैर संवैधानिक तरिकाबाट राष्ट्र चलाउन खोजिएको उहाँले बताउनुभयो । सिंगो कम्युनिष्ट पार्टी नै असफल भएको उहाँको भनाई छ । संयुक्त आन्दोलनको निम्ति कम्युनिष्ट पार्टीले विश्वास गुमाएको नेता ढुंगानाले बताउनुभयो ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले नेकपाको आन्तरिक किचलो, वर्तमान व्यवस्थाको फाइदा उठाउँदै र विदेशी शक्तिको हस्तक्षेपका कारण प्रतिनिधि सभा विघटन भएको बताउनुभयो । ३ वर्षे कार्यकालमा प्रधानमन्त्री ओलीले केही गर्न नसकेको उहाँको भनाई छ । प्रतिनिधिसभा पुर्नस्थापना तथा नयाँ निर्वाचन दुवैले वर्तमान राजनीतिक संकटको निकास नदिने उहाँले बताउनुभयो ।प्रतिनिधि सभा विघटन केपी शर्मा ओली र नेकपाको मात्रै असफलता नभई व्यवस्थाकै असफलता भएकाले वर्तमान व्यवस्थाकै पुर्नविचार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button