राजनीतिक गतिरोध छिट्टै अन्त्य हुन्छ-संचारमन्त्री गुरुङ

भगवान् गिरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उहाँले नेपालको राजनीतिक अवस्था बारेमा त्यति धेरै चिन्ता लिनुपर्ने आवश्यकता नभएकोले तत्काल समस्या देखिए पनि राजनीतिक दलहरु आपसी छलफल गरी निचोडमा छिट्टै पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सरकार र पत्रकारबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै महासङ्घको नयाँ नेतृत्वसँग आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बेल्जियम, जर्मनी, डेनमार्क र फ्रान्सका लागि नेपाली राजदूतहरू राजदूत गेहेन्द्र राजभण्डारी, रामकाजी खडका, युवनाथ लम्साल र दीपक अधिकारी, पत्रकार महासङ्घका केन्द्रीय सचिव लक्ष्मी पुन, गैरआवासीय नेपाली सङ्घका केन्द्रीय महासचिव डा हेमराज शर्मा, एनआरएनए युरोप संयोजक नारायण आर्चाय, नेपाल पत्रकार महासङ्घ बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर, बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगी तथा प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौलाले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

अमगाईं समूहको पनि छुट्टै अधिवेशन

युरोप शाखाका कार्यवाहक अध्यक्ष डिल्लीराम अमगाईं समूहले पनि समानान्तर शाखाको चौथो अधिवेशन गर्ने भएको छ । अमगाईंले केजिन राई समूहले महासङ्घको विधि विधान मिचेर एकलौटी ढङ्गले महासङ्घ चलाउन खोजेको भन्दै विवाद चुलिएकाले छुट्टै अधिवेशन गर्नुपरेको बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button