विघटित प्रतिनिधि सभा पुनस्थापना हुन्छ-प्रचण्ड

पोखरा न्यूज संवाददाता । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विघटित प्रतिनिधि सभा पुनस्थापना हुने भएकोले ढुक्क भएर राजनीतिक गतिविधि सञ्चालन गर्न मजदूर संगठनलाई आग्रह गर्नुभएको छ ।

मंगलबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको ‘२० औं मजदूर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक गतिविधि बढाउन आग्रह गर्नुभएको हो । उहाँले सामाजिक न्यायसहितको नयाँ युगको लागि पुनस्थापित प्रतिनिधि सभाले काम गर्ने पनि बताउनुभयो ।

केपी ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको उल्लेख गर्दै त्यसको विरुद्धमा देशका सबै जनता खडा भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले केपी ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको छ र देशभरि जनता सबै आम रुपमा नै यो विघटन गलत छ भन्नेमा खडा भइनै सकेको छ । यसको साथसाथै देशका तमाम बुद्धिजीवीहरु, साहित्यकार, कवि, कलाकार, पत्रकारहरु, संविधानविद्, कानूनविद्हरु सबै यो विघटनको विरुद्ध छन र मलाई विश्वास छ भोलि, पर्सि या निकपर्सिसम्म सर्वोच्च अदालतले यो संविधानमाथि गरिएको घातलाई सच्याउने छ र संसद पुनस्थापित हुनेछ ।

हामी त्यहीबाट नयाँ कानून बनाउने, जनताको हक अधिकार स्थापित गर्ने, मजदुर किसानका मौलिक अधिकार संविधानमा लेखिएको छ तर केपी ओली नेतृत्वको सरकारले लागू गरेको छैन । हामी त्यसलाई लागू गर्ने छौं र देशमा समाजवाद, समाजिक न्यायको नयाँ युगको सुरुवात हामी अगाडि बढाउने छौं ।’

अध्यक्ष प्रचण्डले अदालतमा बहस सिद्धिएपछि अहिले हेर्दाहेर्दैमा रहेको र कुनैपनि बेला संविधान र संसदलाई विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदम सच्चिने र संसद पुनस्थापना हुने विश्वास समेत व्यक्त गर्नुभयो । संविधानमा कुनै अपुग भए त्यसलाई संशोधन गर्दै लैजान सकिनेसमेत बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button