म्याग्दीको बेनीमा खानेपानी कार्यालय स्थापना

पोखरा न्यूज । बेनीमा तीन जिल्ला कार्यक्षेत्र भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय स्थापना भएको छ । सङ्घीय सरकारको खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गत म्याग्दी, बागलुङ र मुस्ताङ जिल्ला कार्यक्षेत्र रहेको छ ।कार्यालयमार्फत हिमाली जिल्लामा एक हजार र पहाडीमा पाँच हजारभन्दा बढी सङ्ख्यामा उपभोक्ता भएका खानेपानीका साथै ढल व्यवस्थापनसम्बन्धी आयोजना कार्यान्वयन हुने भएका छन् ।

यस वर्ष २७ खानेपानी र ढल व्यवस्थापनसम्बन्धी आयोजना कार्यान्वयनका लागि बजेट विनियोजन भएको आयोजनाका प्रमुख रामउदगार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दीको बृहत् घोप्टेखोला र पिप्ले भगवती बृहत् खानेपानी आयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने क्रममा रहेको छ । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत शुरु भएका आयोजनालाई पनि पूर्णता दिइने जनाइएको छ । उहाँका अनुसार पुराना आठ आयोजना निर्माण कार्यलाई पूर्णता दिन कार्यालयले पहल गरेको छ ।

सिनियर डिभिजनल इञ्जिनीयरको नेतृत्वमा तीन इञ्जिनीयर, तीन सब इञ्जिनीयर, एक कम्प्युटर अपरेटर, एक कार्यालय सहयोगी र एक हलुका सवारी चालकको दरबन्दी छ । सबै दरबन्दीअनुसारका प्राविधिक कर्मचारी भएको र उनीहरुलाई कार्यक्षेत्रमा परिचालन गरेर पहिले शुरु भएका आयोजनाको अवस्था अध्ययन गरिरहेको आयोजना प्रमुख यादवले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय खारेज भएपछि म्याग्दीका धेरै खानेपानी आयोजना अलपत्र परेका थिए । सङ्घीय र प्रदेश सरकार मातहतका कार्यालय कसले आयोजना सञ्चालन गर्ने भन्ने अन्यौलताका कारण पहिले शुरु भएका आयोजनामा बजेट नहुँदा अधुरा थिए ।

प्रदेशले एक हजारभन्दा कम जनसङ्ख्या उपभोक्ता भएका आयोजना हेर्ने र सङ्घीय कार्यालयले ठूला आयोजना सञ्चालन गर्ने गरी कार्यविभाजन भएको छ । म्याग्दीमा सङ्घीय कार्यालय स्थापना भएपछि पुराना आयोजनाले पूर्णता पाउने र नयाँ आयोजना निर्माणले गति लिने सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाले बताउनुभयो । यसअघि पोखरास्थित सङ्घीय खानेपानी कार्यालयले म्याग्दीका आयोजना हेर्ने गरेको थियो । केही आयोजना प्रदेश सरकारअन्तर्गतको सिँचाइ, जलस्रोत तथा खानेपानी डिभिजन कार्यालयमा हस्तान्तरण भए पनि न्युन बजेटका कारण पूर्णता पाउन सकेका थिएनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button