प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा ‘न्यायको खोजी’ नाटक उत्कृष्ट

पुरस्कृत पाँच नाटक चैत्र १४ गते मञ्चन गरिने

पोखरा न्यूज । पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा ‘न्यायको खोजी’ उत्कृष्ट बन्न सफल भएको छ । यो भानुभक्त आवसीय माध्यामिक विद्यालय, कास्कीले तयार पारेको नाटक हो । अनुषा परियारको लेखन र आश्मा भुजेलको निर्देशनमा यो नाटक तयार भएको थियो ।

महोत्सवमा जनप्रिय माध्यामिक विद्यालय, कास्कीले तयार पारेको ‘लगानी’ नाटक द्वितीय भयो । यो नाटकको लेखन तथा निर्देशन संगम लामिछानेले गर्नुभएको हो ।न्यू होराइजन आवसीय माध्यामिक विद्यालय, पर्वतले तयार पारेको ‘अभाव’ नाटक तृतीय भयो । मनोहर पौडेलको लेखन र मीना रेग्मीको निर्देशनमा यो नाटक तयार भएको छ ।

सत्यवती माध्यामिक विद्यालय, तनहुँले तयार पारेको ‘कोरोनाको शैक्षिक प्रभाव’ नाटक सान्त्वना भयो । गौरभ सापकोटाको लेखन तथा निर्देशनमा यो नाटक तयार भएको थियो । सान्त्वना स्थानमानै वाराही माध्यामिक विद्यालय कास्कीले तयार पारेको ‘म पछाडिको मेरो सत्य’ नाटकसमेत पर्न सफल भयो । यो नाटक रञ्जु दाहालको लेखन निर्देशनमा निर्माण भएको हो । प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने ५ वटै नाटकलाई आगामी चैत्र १४ गते विश्व रंगमञ्च दिवसको अवसरमा गन्धर्व नाटकघरमा प्रत्यक्ष मञ्चनसँगै पुरस्कार वितरण गरिने आयोजक पोखरा थिएटरले जनाएको छ । प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवका लागि गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ, स्याङजा, बागलुङ, पर्वत, नवलपुर, म्याग्दी, मुस्ताङ, लमजुङ गरी १० जिल्लाका कुल ४० नाटक सहभागी भएका थिए । मनाङ जिल्लाबाट भने महोत्सवका लागि सहभागिता भएन । यो महोत्सव गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा आयोजना गरिएको हो ।

उत्कृष्ट नाटक छनोट गर्न वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको थियो । जसको सदस्यमा कलाकार माओत्स गुरुङ र प्रमीला तुलाचन रहनुभएको थियो । ‘समितिले पहिलो चरणमा ४० नाटकलाई अवलोकन गरेको थियो । ४० नाटकमध्येबाट दोस्रो चरणमा उत्कृष्ट १५ नाटकलाई छनोट गरेर तीनै १५ मध्येबाट प्रथम, द्धितीय, तृतीय, सान्त्वना स्थानमा आउन सफल नाटक छनोट गरिएको हो’ महोत्सवका निर्देशक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तले पोखरा न्यूजलाई भन्नुभयो ।

दोसो चरणमा छनोट भएका नाटकहरुबाट अभिनय,निर्देशन, मञ्चीय प्रस्तुति, कथावस्तु, कथ्य शैली आदिलाई आधार मानेर प्रथम, द्धितीय, तृतीय र सान्तवना स्थानका आधारमा ५ नाटकलाई महोत्सवमा छनोट गरिएको हो । यस अगाडि उत्कृष्ट ४ नाटकलाई छनोट गरिने भनिएपनि २ नाटकले समान अङ्क प्राप्त गरेका कारण ५ नाटकलाई नै महोत्सवमा पुरस्कृत गर्ने निर्णय गरिएको आयोजकको भनाई छ ।

पुरस्कृत हुने ५ वटै नाटकलाई भौतिक उपस्थितिमा पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गरिनेछ । यसरी मञ्चन गरिएको नाटक थिएटरको युट्युब च्यानलमासमेत राखिने पोखरा थिएटरका सञ्चालक मध्यका एक दीलप्रसाद गुरुङले जानकारी दिनुभयो । ‘प्रथम पुरस्कार पचास हजार रुपैयाँ, द्वितीय पुरस्कार नगद पच्चीस हजार रुपैयाँ, तृतीय पुरस्कार १२ हजार ५ सय रुपैयाँ र सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ रहेको छ’ गुरुङले भन्नुभयो । महोत्सवमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझाले सुवरिवेक्षण गर्नुभएको थियो ।

गत वर्षदेखि पोखरा थिएटरले विद्यालयस्तरीय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । पहिलो संस्करणको महोत्सव पोखरा महानगरपालिकस्तरीय थियो । गण्डकी प्रदेश सरकारको सहयोगले यसपाली प्रदेशस्तरीय महोत्सव आयोजना गर्न सम्भव भएको महोत्सव संयोजक परिवर्तनले बताउनुभयो । महोत्सवको नारा ‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभगिताको आधार’ रहेको छ । विद्यालयस्तरीय नाटक महोत्सवलाई निरन्तर सञ्चालन गर्ने पोखरा थिएटरले योजना बनाएको छ ।

महोत्सवमा सहभागी भएका नाटक

पुरस्कृत भएका पाँच नाटक बाहेक महोत्सवमा ३५ नाटकले सहभागिता जनाए । यसरी सहभागी हुने नाटकमा टुकादेवी पौडेल आचार्यको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माध्यामिक विद्यालयय तनहँुको ‘पर्दाभित्रको सत्य’, अनिल गुरुङको लेखन निर्देशनमा डायमण्ड माध्यामिक विद्यालय, कास्कीको ‘छैंटौ परीक्षा’, चुरामणि पुलामीको निर्देशन र लीलाबहादुर भण्डारीको लेखनमा कुमारी प्राथमिक विद्यालय, नवलपुरको ‘अवसर’ थिए ।

यसैगरी यमप्रसाद सापकोटाको निर्देशनमा ‘चम्पाको साहस क’ नाटक सहभागी बन्यो । चण्डिदेवी राष्ट्रिय माध्यामिक विद्यालय, तनहुँले तयार पारेको यो नाटक लक्ष्मी पौडेलले लेख्नुभएको थियो । चन्द्र कला परियारले लेखेको र विश्वराज गुरुङको निर्देशनमा ‘लागु पदार्थ दुव्र्यसन तथा सामाजिक विकृति’ नाटकसमेत महोत्सवमा सहभागी बन्यो । यो नाटक जनविकास माध्यामिक विद्यालय, लमजुङले तयार पारेको थियो ।

अमर नेपालीको निर्देशन तथा लेखनमा बाल मन्दिर माध्यामिक विद्यालय, गोरखाले ‘सीमा विवाद’ नाटकलाई महोत्सवमा प्रतिस्पर्धा गराईएको थियो । पोखरा चिसाखोला वेदविद्याश्रम, कास्कीको ‘सरकारी कोटा’ नाटक महोत्सवमा सहभागी अर्को नाटक थियोे । यो नाटक सुशील बरालको लेखन निर्देशनमा तयार भयो । अशोक मल्लको लेखन र विनोद खनालको निर्देशनमा सरस्वती माध्यामिक विद्यालय, स्याङ्जाले ‘गंगारामको न्याय’ नाटक तयार पारेको थियो ।

युनिभर्सल एकेडेमी, लमजुङले सहभागी गराएको ‘करुणा’ नाटकलाई कसिस वाग्लेले लेख्नुभएको हो भने संजोग लामिछानेले निर्देशन गर्नभएको थियो । ज्योति कुँवरको लेखन र प्रतीक्षा मगरको निर्देशनमा ‘एउटा सानो गाउमा कोभिडको कथा’ नाटक महोत्सवमा सहभागी बन्यो । यो नाटक महालक्ष्मी माध्यामिक विद्यालय, गोरखाले तयार पारेको थियो ।‘देशको माया’ नाटकलाई सिद्धेश्वरी माध्यामिक विद्यालय, तनहुँले पठाएको थियो । यो नाटक मूर्तिकला उपरकोटी लेखन र पदमराज पौडेलको निर्देशनमा तयार भएको हो ।

भू.पू लोटस मन्टेश्वरी स्कूल, लमजुङले ‘सफलताको कथा’ नाटक निर्माण गर्यो । यो नाटक अमृता थापाले लेख्नुभएको हो भने अन्जय गुरुङले निर्देशनको जिम्मेवारी पूरा गर्नुभयो ।‘भावना’ नाटक नेशनल क्रियशन एकेडेमी, कास्कीले तयार पारेको नाटक थियो । यो नाटकको लेखन सन्दीप ठाकुर र विशान उदाशले गर्नुभएको हो । ‘हराएको मोबाइल’ नाटक अर्को सहभागी नाटक हो । पीताम्बर माध्यामिक विद्यालय,स्याङ्जाले तयार पारेको यो नाटक पराजित रेशम गोतामेले लेख्नुभयो । निर्देशकको भूमिका चित्र थापाले निभाउनुभयो ।

‘आमाबाबाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गामुढामाथि’ न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यामिक विद्यालय, म्याग्दीले सहाभागी गराएको नाटक थियो । यसको लेखक प्रिदिता बरुवाल हनुहुन्छ । नाटकलाई सरोज लकान्द्री र सतिया जिसीले संयुक्त रुपमा निर्देशन गर्नुभयो ।‘दबाबित मैत्री शिक्षा’ पोखरा चिसाखोला वेद विद्याश्रमले तयार पारेको अर्को नाटक थियो । यसको लेखन तथा निर्देशन अमृत घिमिरेले गर्नुभयो ।

कालीगण्डकी आवासीय माध्यामिक विद्यालय, बाग्लुङबाट ‘चेलिबेटी बेचबिखन’ नाटक सहभागी भयो । यो नाटकको लेखन जीवननाथ शर्मा र निर्देशन सुरेन्द्र शाक्यले गर्नुभएको हो ।‘होस्टेल जान्न’ नाटक पृथ्वी माध्यमिक विद्यालय, नवलपुरले तयार पारेको थियो । संगम भुसालले लेखेको यो नाटक समीर तिवारीले निर्देशनको जिम्मा पाउनुभयो । न्यू मोडेल आवासीय माध्यामिक विद्यालय, कास्कीले ‘षडयन्त्रको घेरामा बुढीआमा’ नाटक सहभागी गरायो । यो नाटक गोकुल नेपालीले लेख्नुभएको थियो । नाटकको निर्देशक सुनिता पौडेल हुनुहुन्छ ।

‘दुव्र्यसनीबाट बचौ र मोबाइलको सही प्रयोग गरौं’ नाटक जनवाल माध्यामिक विद्यालय, मार्फा मुस्ताङले तयार पार्याे । वीरेन्द्र परियारले लेखेको यो नाटक विजय शारा र सवीन विलाश पन्तले निर्देशन गर्नुभयो । जनहित माध्यामिक विद्यालय,स्याङ्जाले भीमनिधि तिवारीको लेखन र वसन्त खनालको निर्देशनमा नाटक ‘टीका’ तयार गरेर महोत्सवमा सहभागी गराइयो ।

‘मोबाइलको प्रयोग’ ग्यालेक्सी इङ्गलिस बोडिङ्ग स्कूल, नवलपुरले तयार पारेको नाटक थियोे । गोमा बास्ताकोटीले लेखेको यो नाटकलाई कोपीला भण्डारीले निर्देशन गर्नुभयो । ‘दि सोसियल साइकोलोजी अफ डिस्क्रिमिनेसन’ उर्जा बरालको लेखन निर्देशनमा निश्पक्ष माध्यामिक विद्यालय,कास्कीले सहभागी गराएको नाटक थियो ।‘बालबालिकाको सुनौलो भविष्यमा अभिभावकको भूमिका’ नाटक भू.पू सैनिक आवसीय माध्यामिक विद्यालय, लमजुङले तयार पारेको हो । विनोद गुरुङले निर्देशन गरेको यो नाटक मन माया गुरुङले लेख्नुभयो ।

सुवेश वि.क.को लेखन तथा निर्देशनमा ‘लव टु चायल्ड’ नाटक योगेन्द्र माध्यामिक विद्यालय, मुस्ताङले सहभागी गराएको नाटक थियो । ‘मुटुमा कोरिएको भूत’ गण्डकी बोर्डिङ स्कूलले तयार पारेको नाटक थियो । समन गुरुङ र मान्यता गौतमले लेखेको यो नाटकको निर्देशन समन गुरुङले गर्नुभयो । ‘नलेखिएको अक्षर’ फलेनी माध्यामिक विद्यालय, लमजुङबाट सहभागी भएको नाटक थियो । केदार बोहराको निर्देशन र रामजी कुमार श्रेष्ठको लेखनमा नाटक बन्यो ।

‘नदेखिएको चित्र’ अमर इङ्गलिस स्कूल, नवलपुरबाट सहभागी नाटक थियो । यो नाटकको लेखन निर्देशन अर्जुन कंडेलले गर्नुभयो ।
‘जातीय हिंसा अन्त्य गरौं, समतामूलक समाजको निर्माण गरौं’ अमर माध्यामिक विद्यालय, लमजुङको नाटक सहभागी भयो । शिवानी भण्डारी र रुट परियारको लेखन तथा युकेश तामाङको निर्देशनमा यो नाटक तयार पारिएको थियो । ‘मणिरामको सारंगी र बीसे नगर्चीको नगरा’ नाटक शक्ति माध्यामिक विद्यालय, गोरखाले तयार पारेको थियो । यसको लेखन तथा निर्देशन सुरेन्द्र देवकोटाले गर्नुभयो ।

तुलसा भट्टराईको लेखन निर्देशनमा ‘लत’ नाटकलाई प्रतिभा माध्यामिक विद्यालय, कास्कीले सहभागी गरायो । एस.ओ.एस हर्मन माइनर स्कूल, कास्कीको नाटक ‘गोल’ महोत्सवमा सहभागी अर्को नाटक थियो । धर्मस्थली आधारभूत विद्यालय, कास्कीबाट सुनिता ज्ञवालीको लेखन निर्देशनमा ‘सचेतना’ नाटक महोत्सवमा सहभागी बन्यो । ‘आफूलाई परेको समस्या’ निर्मल माध्यामिक विद्यालय तनहुँको नाटक थियो । यो नाटकको लेखन निर्देशन कल्पना परियारले गर्नुभयो । परोपकार आदर्श माध्यामिक विद्यालय गोरखाले तयार पारेको नाटक प्राविधिक कारणबस निर्धारित समयभन्दा ढिला गरी प्राप्त भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button