सडक निर्माणमा प्राविधिक त्रुटी नगर्न प्रधानमन्त्री ओलीको निर्देशन

पोखरा न्यूज संवाददाता । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक निर्माणमा प्राविधिक त्रुटी नर्गन निर्देशन दिनुभएको छ ।

आइतबार प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडक निर्माणमा भएका प्राविधिक त्रुटीका कारण दुर्घटना निम्तिने भएकाले सडक निर्माणमा प्राविधिक त्रुटी नर्गन निर्देशन दिनुभएको हो । जनताको जीवन रक्षा महत्वपूर्ण भएको सवारी साधन र यात्रुहरुको सुरक्षाको प्रत्याभूति हुनेगरी सडक निर्माण गर्न पनि निर्देशन दिनुभयो । उहाँले दुर्गम ठाउँहरुमा पनि सुरक्षित पक्की सडक बन्नुपर्ने र अब निर्माण हुने सडकहरु कच्चा र असुरक्षित हुनु नहुने तर्फ ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो – ‘दुर्गम क्षेत्रहरुलाई पनि पक्की बाटाहरु, पक्की भन्नाले कालोपत्रे मात्र होइन । त्यसको किनारमा पक्की हुनुपर्छ । त्यसको भित्तातिर पक्की हुनुपर्छ । पहिरोबाट सुरक्षित हुनुपर्छ । किनारबाट गाडी नखसोस् । त्यस प्रकारको डिफेन्स वालहरु, पिल्लरहरुसहित राखिएका सडकहरु । अब बन्ने सडकहरु कच्चा अथवा असुरक्षित सडकहरु हुनुहुदैन । सडक राम्रा, फराकिला, पक्की सडक र सुरक्षित सडक हुनुपर्दछ ।

यो चाहे स्थानीय तहले, प्रदेशले अथवा संघीय सरकारले जहाँसुकैबाट निर्माण भएपनि यी पक्षहरुमा ध्यान दिनुपर्दछ । दुर्घटनका कतिपय प्राविधिक कारणहरु हुन्छन् । सडक निर्माणमा प्राविधिक त्रुटी रह्यो भने बढी दुर्घटना हुन्छ । त्यसकारण हाम्रा अहिले सम्मका आफ्ना राष्ट्रिय अनुभवहरु र अन्तराष्ट्रिय अनुभवलाई पनि लिएर हामीले दुर्घटनाका सम्भावना हुने खालका प्राविधिक त्रुटीपनि हुन नपाउन् । बाटाहरु, बाटोको आफ्नै सुरक्षा र बाटो आफै सुरक्षित बाटो हुनुप¥यो । बाटो भत्किने, बिग्रिने, पहिरो जाने त्यस्तो भइनरहने खालको बाटो हुनुपर्यो । र अर्को कुरा बाटोको प्रयोगकर्ता, सवारी, सवारीसाधन, त्यसमा रहेका व्यक्तिहरु अथवा आवागमनकर्ता यात्रुहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्यो बाटोमा । त्यस प्रकारका बाटाहरु निर्माण गर्नुपर्यो ।

बाटा माथि हेर्दा कालोपत्रे छ तर राम्रो सुरक्षित छैन । बाटो आफै सुरक्षित छैन भने ती बाटाहरु दुर्घटनाका कारक हुन्छन् । मैले जोड दिइरहेको छु पटक पटक भनेको छु । जनताको ज्यानको रक्षा, जनताको जीवन रक्षा हाम्रा निम्ति सबैभन्दा बढी महत्वपूर्ण छ । जनताको जीवन सुरक्षित र सुखी होस् । त्यसका निम्ति हामी हाम्रा सम्पूर्ण प्रयासहरु केन्द्रीत गरिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले पक्की सडक भएको ठाउँमा पनि स्तरोन्नति तथा सुधारको काम गर्नुपर्ने बताउनुभयो । सडक दुर्घटनालाई रोक्न ट्राफिक अनुशासनको कार्यान्वयन तथा अनुगमन गर्नुपर्ने उहाँको भनाई छ । पक्की सडक निर्माणमा कालोपत्रे गरेर मात्रै नहुने भन्दै उहाँले कस्तो स्तरको सडक बन्दै छ त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले सडक निर्माणको कामलाई तीव्रता दिएको पनि बताउनुभयो । आइतबार प्रधानमन्त्री ओलीले दुई सय ८३ स्थानीय तहका केन्द्रलाई राष्ट्रिय सडक सञ्जाल वा प्रदेश राजधानीसँग जोडिने गरी प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button