नेपाली फिल्ममा सुधार गर्नुपर्ने पक्ष भनेको मेकिङ नै हो: सन्तोष अधिकारी

निर्मातालाई खासै कसैले चिन्दैनन्, अब अभिनयको माध्यमबाट समेत अगाडि बढ्छु

पोखरा न्यूज सम्वाददाता । कास्की पोखराका सन्तोष अधिकारी फिल्म निर्माता हुनुहुन्छ । नेपाली फिल्म घर, तीन जन्तु, आमा मार्फत निर्माताको रुपमा उहाँ परिचित बन्नुभएको हो । म्युजिक भिडियोमा अभिनय समेत गरिसक्नुभएका अधिकारी फिल्म निर्माणसँगै अभिनयको माध्यमबाट समेत फिल्म क्षेत्रमा अगाडि बढ्ने तयारीमा रहनुभएको छ । जसको लागि स्क्रिप्ट तयार भैसकेको छ । निर्माता मात्र नभएर कलाकारिताको माध्यमबाट समेत फिल्म क्षेत्रमा अगाडि बढ्ने योजना उहाँले बनाउनुभएको छ ।

हालै अधिकारीको निर्देशनमा तयार भएको ‘गहिरो थियो मेरो माया’ गीतको भिडियो सार्वजनिक भएको थियो । जुन भिडियोमा उहाँले अभिनय समेत रहेको थियो । एएसएपी इन्टरटेनमेन्टको प्रबन्ध निर्देशक रहनुभएका अधिकारीले विभिन्न इभेन्टको सफल आयोजना गरिसक्नुभएको छ ।

उहाँकै प्रयासमा पोखरा तथा अष्ट्रेलियाको सिड्नीमा हेरिटेज अफ फेसन नेपाल कार्यक्रमको आयोजना भइसकेको छ । विभिन्न व्यवसायिक क्षेत्रमा समेत सम्लग्न रहनुभएका अधिकारी हाल अष्ट्रेलियामा हुनुहुन्छ । उहाँसँग हामीले यसपाली फिल्मी क्षेत्रसँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।

तपाईले फिल्म कतिको हेर्नुहुन्छ ?
फुर्सदको समयमा फिल्म हेरिन्छ । पहिला अझै धेरै हेरिन्थ्यो । अहिले सेलेक्टेड फिल्म हेरिन्छ । समय बिताउनुपर्ने भयो भने हेर्ने भनेको फिल्म नै हो । सोही कारण फिल्म मज्जाले हेरिन्छ । मैले नेपाली मात्र नभएर विदेशी फिल्म उतिकै हेर्छु । विदेशी फिल्म हेर्दा मेकिङ कस्तो छ भन्नेमा ध्यान दिन्छु । मलाई कलरफूल फिल्म मेकिङ मनपर्छ । नयाँ जानकारी पाउने उद्धेश्यका साथ विभिन्न फिल्म हेर्ने गरेको छु ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
विगतमा मेरो फिल्म हेर्ने माध्यम हल नै हो । पछिल्ला दिनमा नेटफ्लिक्स, प्राइम र युट्युबमा समेत हेर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभुति कस्तो हुन्छ ?
हलमा जतिको फिल्म हेर्दाको मज्जा घरमा हेर्दा कहिल्यै पनि मिल्दैन ।
बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
ममीले धेरै फिल्म हेर्नुुहन्थ्यो । सोही कारण ममीकै पछि लाएर धेरै फिल्म हेरियो । त्यसरी फिल्म हेर्दाको अनुभव रमाइलो हुन्थ्यो । त्यस समयमा फिल्म हेर्दा पर्दाको मान्छे आफै बोल्छ, पर्दाको भित्रपट्टि मान्छे हुन्छ भन्ने खालको अनुभव मलाई हुन्थ्यो । फाइट गरेको, मृत्यु भएको सिन देख्दा साच्चिकै होला भन्ने लाग्थ्यो । किनकी अभिनय मात्र हो भन्ने थाहा थिएन त्यतिबेला । अहिले सम्झदा रमाइलो लाग्छ । त्यतिबेला धेरै उत्सुकता मनमा हुन्थ्यो । त्यही कारणले होला अहिले म फिल्म मेकिङ क्षेत्रमा छुँ । मलाई फिल्म खेल्न र फिल्म निर्माण गर्न मनलाग्छ ।

हलमा हेरेको पहिलो फिल्म ?
यही फिल्म पहिलो थियो मैले हेरेको भन्ने याद नै छैन । नेपाली फिल्म सम्झना, कुसुमे रुमाल हेरेको अलिअलि याद छ त्यतिबेला ७, ८ वर्षको थिए होला सायद, ठ्याक्कै नाम बताउने नसकेपनि हलमा मैले पहिलो फिल्म ममीसँग नै हेरेको हुँ । म ८ कक्षामा अध्ययन गर्दा घरमा भिसिआर आयो । अनि मेरो जन्मदिनको अवसर पारेर सुनिल सेट्टीको बलवान, अजय देवगनको विजयपथ फिल्म घरमा हेरेको सम्झना छ । त्यसपछि मैले वलिउडका एक्सन फिल्म मन पराउन थाले ।

मनपर्ने फिल्मी कलाकार ?
नेपालमा हिरो भनेको भुवन केसी हो भन्ने लाग्छ । नायिकामा निता ढुंगाना मनपर्छ । अन्य धेरैको अभिनय मनलाई मनपर्छ । बलिउडमा साहरुख खान र मनिषा कोइराला उत्कृष्ट लाग्छ । मैले फिल्म मात्र नभएर अभिनय र मेकिङ शैलीलाई आधार बनाएर फिल्म हेर्ने बानी छ । यसरी हेर्दा धेरै उस्तै उस्तै लाग्छ । मैले हलिउड, बलिउड र कलिउड सबै कलाकारको फिल्म हेर्छु । मलाई तोकेर नै यही कलाकार मनपर्छ भन्ने खासै छैन ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
फिल्मले एउटा पाठ सिकाउँछ । नयाँ जानकारी दिन्छ । समाजको परिवर्तन, समाजको समस्यालाई उजागर गरिदिएको हुन्छ । अर्को कुरा फिल्मले मुख्यतया मनोरञ्जन नै दिन्छ । विभिन्न तनावबाट एकछिन भएपनि भुलाउन पाइन्छ । फिल्मको पात्रमा आफुलाई राखेर हेर्दा झनै मज्जा आउँछ । विगत ५, ७ वर्षदेखि केही नेपाली फिल्ममा प्रभावकारी ढंगले सुधार हुँदै आएको छ ।

सुधार गर्नुपर्ने पक्ष ?
नेपाली फिल्ममा सुधार गर्नुपर्ने पक्ष भनेको मेकिङ नै हो । किनकि फिल्मको बजेट एकदमै सानो छ । अडियन्सहरु नेपाली फिल्म मात्र नभएर ठूलो बजेट र नयाँ नयाँ प्रविधिको प्रयोग गरिएका हलिउड, बलिउडका फिल्म हेर्ने भएकोले नेपाली फिल्मको मेकिङमा उहाँहरुले चित्त बुझाउनुहुन्न । अर्को कुरा सरकारको सर्पोट नभएको हुँदा नेपाली फिल्म विदेशी फिल्मको लेभलमा मेकिङ गर्न निर्मातालाई गाह्रो भएको छ । ठूलो बजेटमा फिल्म बनाउछु भन्नेहरुको लगानी डुबेको छ । त्यसैले नेपाली फिल्मलाई अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने बनाउन सरकारको सहयोग आवश्यक छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
मलाई फिल्म हेर्दा फिम्म खेल्न रहर हुने थिएन । फिल्म खेल्न सक्छु भन्ने आँट मसँग सायद त्यतिबेला थिएन । क्यारेक्टरमा आफूलाई राख्दा मज्जा भने आउथ्यो । घरमा गएपछि दाजुभाइ फाइट गर्ने फिल्मको जसरी रमाउन खोज्ने वातावरण गरिन्थ्यो ।

विगत ५ वर्षदेखि एएसएपी इन्टरटेनमेन्ट भन्ने कम्पनी खोलेर यो क्षेत्रमा हात हाले । मेरो संगत धेरै फिल्मकर्मीसँग भयो । त्यसपछि गर्नसक्छु, सबैले गरिरहेकै रहेछन् भन्ने मनमा आँट आयो । अनि सुरु गरे । सन् २०१६ मा कम्पनी खोलेको हुँ । कप्पनी खोलेपछि भाइले एउटा गीत लेख्यो । गीत तयार पारेर भिडियो आफैले बनायौ । हामीलाई रहर थियो । त्यसपछि रहरमा नै दोस्रो गीत बनायौ । कोरोनाको कारण भएको लकडाउनको समयमा म धेरै सिर्जनात्मक भए । आफैले स्क्रिप्ट लेख्न थाले । आफ्नै होम प्रोडक्सनमा ‘गहिरो थियो मेरो माया गीत’ तयार पारियो ।

‘गहिरो थियो मेरो माया’ गीतको भिडियोको बारेमा भन्नुन ?
यो गीतमा मेरो भाइ अजय कुमार अधिकारीको शब्द तथा संगीत छ । सनुप पौडेललले आवाज भर्नुभएको छ । भिडियोको छायाकंन अष्ट्रेलियाका भएको हो । अष्ट्रेलियामा सुटिङको अनुभुति लिनुपर्ने थियो । विदेशमा कसरी सुटिङ गर्न सक्छौ । कस्तो मेनपावर लाग्छ भन्ने आइडिया लिनेका लागि यो काम गरियो । किनकि हामीले फिल्म सुटिङ अष्ट्रेलियामा गर्ने तयारी गरेका छौँ । आफ्नो क्षमताले भ्याएसम्म गीतको भिडियोलाई राम्रो बनाउने कोसिस गरेको छु । गीतलाई एएसएपी इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज गरे । आफ्नो सम्पत्ति आफैसँग हुँदाको फाइदा बेफाइदाको कुरा नजिकबाट बुझेकोले एकैछिनको भिउजको पछि लागिन । अहिले दर्शक श्रोताको सकारात्मक प्रतिक्रिया पाएको छुँ ।

अभिनय र भिडियो निर्देशनको यात्रा कसरी सुरु भयो, अब कसरी अगाडि बढ्ने तयारी छ ?
पहिला रहरमा दुईवटा भिडियोमा अभिनय गरे । मनमा अभिनय गर्न सक्छु भन्ने त थियो । अभिनयको ज्ञान थप्न अष्ट्रेलियाको सिड्नी थिएटर स्कुलमा कक्षा लिए । कक्षा लिएपछि एक्टिङ गर्नसक्छु भन्ने साहस झनै बढ्यो । सोही साहस देखाउने प्लार्टफर्म चाहिएको थियो । अरुसँग प्लार्टफर्म माग्नु भन्दा आफ्नै कम्पनीबाट गरौ भन्ने भयो । हुनत साथीहरुको सुझाब समेत आफै गर भन्ने नै थियो । अनि रुचि भएको र अभिनय सिकेको कारण गरे ।

अर्को कुरा निर्देशन गर्ने मानिस अष्ट्रेलियामा भेटिन । आफैले लेख्नुपर्‍यो । साथीहरुले विश्वास गर्नुभयो । स्पोन्सर समेत पाए । अनि अभिनय मात्र नभएर भिडियो निर्देशन गरेर देखाए । यसबाट मलाई अझै अगाडि बढ्ने हौसला थपिएको छ । यसबाट म निर्माता, कलाकार मात्र नभएर निर्देशक समेत बन्न पुगे । हुनपनि निर्मातालाई खासै कसैले चिन्दैनन् । यो मैले मनन गरेको छु । लगानी मात्र नभएर कलाकारिता तथा निर्देशनको क्षेत्रमा समेत अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ काम गरे ।

नयाँ फिल्म निर्माण गर्ने तयारी छैन ?
किन नहुनु छ । नेपालमा एउटा स्क्रिप्ट तयार भएको छ । अष्ट्रेलियामा पनि एउटा स्क्रिप्ट तयार भएको छ । दुईवटा स्क्रिप्टमा नै काम गर्दैछौं । यसको लागि मेरो आफ्नो कम्पनी नेपालमा र अष्ट्रेलिया दुवै ठाउँमा छ । दुईवटै व्यानरबाट काम गर्न सक्छौ । दुवै स्क्रिप्ट मार्फत कलाकारको रुपमा म देखिनेछु । मेरै कम्पनीले निर्माण गर्ने हो । सह–निर्माता सहितका जिम्मेवारीमा साथीहरु जुट्दै हुनुहुन्छ । केही समयपछि यो प्रोजेक्ट सुरु हुनेछ ।

फिल्म निर्मातालाई अहिले परेको असर के छ ?
कोरोनाको कारण निर्माता मात्र नभएर कलाकार, हल सञ्चालक सहित सबै फिल्मकर्मीलाई असर परेको छ । त्यसो त फिल्म निर्मातालाई प्लाटफर्म नै कम छ । निर्देशक, कलाकारलाई जस्तो हुँदैन । उनीहरुलाई पारिश्रमिक लिएर आफनो जिम्मेवारी पूरा गरिदिए भयो । तर निर्मातालाई फिल्म कसरी चलाउने, हलमा कसरी पुर्‍याउने, प्रतिष्पर्धा कसरी गर्ने, भन्ने पर्छ ।
एकैचौटी आएर लगानी डुबाउनु भन्दा विस्तारै आफूलाई मजबुत बनाएर विस्तारै आगि बढौं भन्ने मलाई लागेको छ । पीडित निर्माता मात्र भएर नबसौँ भन्ने हकमा फिल्ममा अभिनय पनि गर्न खोजेको हुँ । रथलाई आफैले सारथी राखेर हाक्ने कोशिसमा छु । सबैको साथले पछि स्थापित हुनेनैछु भन्ने मनमा विश्वास छ ।

फिल्मसँग सम्बन्धित थप केही भए भन्नु ?
नेपाली फिल्म क्षेत्रमा केही गर्नको लागि अरुको मुख ताकेर बस्नु हुँदैन । आफू अगाडि सर्नुपर्छ । हामीले फलको आशा पहिल्यै गर्ने हैन, पहिले त काम गर्ने हो । फिल्म निमार्ण एउटा राम्रो व्यवसाय भएकोले यसको नियन्त्रण आफूसँगै हुनुपर्छ । अहिले बलिउडमा धेरै कलाकारको होम प्रोडक्सन छ । किनभने होम प्रोडक्सन भयो भने आफ्नो क्षमता देखाउन पाइयो, लागत कम लाग्ने भयो, फिल्म समेत राम्रो बन्ने भयो । अरुको मुख ताकेर काम गर्दा आफै डुबिन्छ । सोही कारण म अब व्यवसायिक हिसाबले सोचेर काम गर्छु । अरुलाई समेत त्यसरी नै अगाडि बढ्न सुझाब दिन्छु । ४, ५ वर्ष फिल्म खेलेर, फिल्म निर्माण गरेर फिल्म उद्योगमा क्रियाशील हुने तयारी गरेको छु, हेरौं कतिको सफल हुन्छु ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button