फिल्म ‘शिरसुवा’ चैत्र ६ गतेबाट सर्वसाधरण दर्शकले हेर्न पाउने

कम्तिमा एक हप्ता हलमा नियमित प्रर्दशन गर्ने तयारी

पोखरा न्यूज सम्वाददाता । गुरुङ फिल्म ‘शिरसुवा’ नियमित रुपमा हलमा प्रदर्शन हुने भएको छ । सभागृहचोक पोखरामा रहेको मिडटाउन ग्यालरीयामा यो फिल्म प्रदर्शन गरिनेछ । गुरुङ फिल्म एशोशिएसन नेपाल जिफानको व्यवस्थापनमा यो फिल्म नियमित हलमा प्रदर्शन गर्न लागिएको अध्यक्ष भोजबहादुर गुरुङले बताउनुभयो ।

पोखरा न्युजसँग कुरा गर्दै अध्यक्ष गुरुङ भन्नुहुन्छ–‘अब गुरुङ फिल्म घरदैलोमा टिकट बेचेर, किनेर हैन सबै दर्शकले फिल्म हलमा नै गएर फिल्म हेरौँ भन्ने अवधारणाका साथ फागुन १ गते कर्म क्या, फागुन १५ गते रिजे नासाँ फिल्म प्रदर्शन ग¥यौ । ती दूई फिल्म भिआइपी सो र विशेष सो मार्फत दर्शकलाई देखाइसकेका फिल्म थिए । सोही कारण आशा गरे जस्तो दर्शक सहभागिता भएन । चैत्र ६ गतेबाट नियमित रुपमा प्रदर्शन हुन लागेको शिरसुवा कलाकार, प्राविधिक र आफूलाई सहयोग गर्नेको लागि मात्र देखाएको नयाँ फ्रेस फिल्म हो । सोही कारण फिल्म कम्तिमा १ हप्ता चल्ने विश्वास छ ।’

पोखरामा प्रदर्शन भएको गुरुङ फिल्म धेरै दर्शकले हेरे भने २५ सय ३ हजार दर्शक पुग्ने गरेको रेकर्ड आफुहरुसँग भएकोले सबै समुदायका दर्शकमाझ फिल्म पु¥याउदा दर्शकको संख्या स्वतः बढ्ने आशा उहाँ गर्नुहुन्छ । ‘पोखरामा नेपाली फिल्मका लाखौँ दर्शक हुनुहुन्छ । कम्तिमा २० हजार दर्शकलाई फिल्म देखाउन सक्यौ भने सजिलै लगानी उठाएर नाफा कमाउन सक्छौ’ उहाँले भन्नुभयो । अब फिल्म निर्माताले समेत सबै समुदायमाझ पु¥याउने खालको फिल्म बनाउनुपर्नेमा उहाँको जोड छ । फिल्म निर्माण राष्ट्रको बौद्धिक सम्पत्ति भएकोले सबैले माया गर्नुपर्ने उहाँ बताउनुहुन्छ । ‘शिरसुवा’ फिल्मको लागि टिकट बुकिङ खुल्ला भइसकेको छ ।

‘शिरसुवा’ भ्रेज मेश्रो फिल्म प्रोडक्सन घान्दु्रकको प्रस्तुतिमा निर्माण भएको दोस्रो गुरुङ फिल्म हो । यसअघि भ्रेज मेश्रो फिल्म प्रोडक्सनले पहिलो फिल्म ‘भे्र’ निर्माण भएको थियो । जुन फिल्मलाई दर्शकले रुचाएका थिए । काठमाण्डौँ र पोखरामा गरिएको विशेष प्रदर्शन मार्फत फिल्म हेरेका दर्शकले फिल्मलाई रुचाएको निर्देशक माओत्से गुरुङले बताउनुभयो ।

‘शिरसुवा’को छायाकंन कास्कीको रमणीय गाउँ घान्द्रुकमा भएको हो । फिल्ममा विश्वास गुरुङ, सुमन गुरुङ, सुमित गुरुङ, प्रिती गुरुङ, आइतराम गुरुङ, सुरज गुरुङ, सोम गुरुङ, डिबी गुरुङ, रविता गुरुङ, अञ्जु गुरुङ, टिकाराम घले, मन्जु गुरुङ, मौसम गुरुङ, अंशु गुरुङ, कुल बहादुर गुरुङ, शंकर गुरुङ, अतीत गुरुङ आदी कलाकारको अभिनय हेर्न पाइन्छ । यसका अलावा अतिथि कलाकारको रुपमा रजनी गुरुङ, विमल गुरुङ, विरवल घले, राजेन्द्र थापा, लक्ष्मी गुरुङलाई फिल्ममा देख्न सकिन्छ ।

फिल्मको सिनेमेटोग्राफर सुशान्त प्रजापती रहनुभएको छ । फिल्मको निर्माता बिमल गुरुङ हुनुहुन्छ । कथा पनि उहाँकै हो । माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्मका गीतमा संगीत धन बहादुर गुरुङ र मनोज गुरुङले भर्नुभएको हो । गीतको रचना विमल गुरुङले गर्नुभएको हो भने एरेन्जको जिम्मेवारी धनबहादुर गुरुङ र तेजेन्द्र गुरुङले पूरा गर्नुभयो । गोरे गुरुङ र लप्सन गुरुङ गीतको कोरियोग्राफर हुनुहुन्छ । फिल्मको पाश्र्व गायक गायिकाको जिम्मा धन बहादुर गुरुङ, सरुन गुरुङ र निशा गुरुङले पुरा गर्नुभएको छ । मेककप आर्टिष्टको जिम्मा सर्मिला गुरुङलाई दिइएको थियो । टाक टुकको सम्पादन, सोम गुरुङ र सुजता गुरुङको सहनिर्देशन रहेको फिल्मको प्रोडक्सन मेनेजरमा डिबी गुरुङ र विनोद घले गुरुङ हुनुहुन्छ ।
अभिभावकको चाहना नमिल्दा छोराछोरी र अभिभावक बीच आइपर्ने समस्यालाई फिल्ममा प्रस्तुत गर्न खोजिएको छ । यो फिल्म ३० लाख भन्दा बढीको लगानीमा निर्माण भएको हो ।

यसअगाडि शिरसुवा गत फागुन १५ गते शनिबार रानीदेवी पार्टी प्यालेस काठमाण्डौँमा, फागुन २२ गते शनिबार भमरकोट पार्टी प्यालेस विरेन्द्रचोक रामबजारमा र चैत्र २ गते मिडटाउन ग्यालरीयामा विशेष प्रदर्शन गरियो ।

मिडटाउन ग्यालरीयामा आयोजित विशेष प्रदर्शन हेर्न गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ पुग्नुभएको थियो । फिल्म हेरिसकेपछि उहाँले फिल्मको बारेमा आफ्नो फेसबुक मार्फत फिल्मको प्रंशसा सहित सुझाब समेत दिनुभएको छ । फिल्म हेरिसकेपछि उहाँको प्रतिक्रिया यस्तो रहेको छ– “प्रसिद्ध कलाकार तथा निर्देशक माओत्से गुरूङको निर्देशनमा भ्रेज मेश्रो फिल्म प्रोडक्शनले निर्माण गरेको गुरुङ भाषाको चलचित्र ‘शिरसुवा’ हेर्ने मौका मिल्यो ।

यो फिल्म गुरूङ जातिको सामाजिक परिवेश, जनजीवन, व्यवसाय, आर्थिक कृयाकलाप, संस्कार र संस्कृतिलाई सुन्दर ढंगले कथाबस्तुमा उनिएकोछ । कथाबस्तु, अभिनय र निर्देशनका हिसाबले चर्चित राष्ट्रिय कलाकारहरू विना पनि यो फिल्म साच्चै उत्कृष्ट बनेको छ । नेपाली फिल्मी जगत र नाट्य मञ्चमा स्थापित कलाकार माओत्से गुरूङको निर्देशन उत्कृष्ट लाग्यो, उनले निर्देशकका रूपमा फिल्मलाई पूर्णरूपमा न्याय दिएका छन् । त्यसैगरी कलाकारहरू सबै आ–आफ्नोे भुमिकामा जमेका छन् र राम्रै मिहिनेत गरेका छन् । त्यसैले निर्माता, निर्देशक र कलाकारहरू सबै बधाई र धन्यवादका पात्र बनेका छन् ।

जानकारी अनुसार गुरूङ फिल्म निर्माणको यात्राले रजत जयन्ती मनाउँदैछ । त्यसैले जिफानको जिम्मेवारी अझ बढेको छ । ‘च्यारिटी शो’ मा आधारित गुरूङ फिल्महरूलाई अब हलहरूमा प्रदर्शन गरि लगानी उठाउने सक्ने बनाउन केही समय अथक संघर्ष गर्नु पर्ने देखिन्छ । संधै ‘च्यारिटी शो’का सिमित दर्शकहरूमा आधारित हुने मानसिकता त्यागेर जतिसुकै अप्ठ्यारो परे पनि व्यवसायिकरूपमा अगाडि बढ्ने प्रयत्न गर्नुपर्छ । अब जिफानले हिम्मतका साथ आम नेपाली दर्शकहरूलाई गुरूङ धारका फिल्मको स्वाद चखाउनै पर्छ र मात्र, पछि बानी पर्दै जान्छ । बानी परेपछि दर्शकहरूले मन नपराउने कुरै हुँदैन ।

अन्तमा, मेरो आफ्नो विचार– गुरूङ फिल्म भनेपछि कलाकारहरू गुरूङहरू मात्र हुनुपर्छ या कथा र कथाका पात्रहरू पनि विशुद्धरूपमा गुरूङको भुमिका मात्र हुनुपर्छ भन्ने साँगुरो मानसिकता त्याग्नुपर्छ । अलि फराकिलो सोंच र मानसिकताका साथ हाम्रो गुरूङ समाज र गाउँहरू जसरी अरू जातजातिहरूलाई पनि समाहित गरि मिलेर बनेको छ, त्यही रूपमा फिल्ममा पनि गुरूङ फिल्मको धारलाई प्रधानता दिदैं यसका कथा, विषयबस्तु र पात्रहरूमा अन्य जातजातिका परिवेश र भुमिकाहरूलाई पनि जोड्न सक्ने हो भने अझ सशक्त हुनसक्छ ।”

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button