नेपालमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र-अध्यक्ष प्रचण्ड

पोखरा न्यूज संवाददाता । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताउनुभएको छ ।

मंगलबार अग्रणी शहीद शुकदेव गुरुङ शहीद घोषणा राष्ट्रिय जागरण अभियान अन्र्तगतको सर्वपक्षीय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताउनुभएको हो ।

आफूहरुले जातीय अधिकार, समानता, आत्मसम्मान र स्वतन्त्रताको कुरा गर्दा जातिवादीको विल्ला भिराएको उहाँको भनाई छ । नेपालमा अन्धराष्ट्रवाद लाद्ने षडयन्त्र भएको पनि उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘अस्ति संसद/प्रतिनिधिसभा विघटन गर्ने भनेर जुन कुरा केपी ओली प्रधानमन्त्रीको रुपमा उहाँले गर्नुभयो त्यो भयानक ठूला षडयन्त्र थियो ।

नेपालका आदिबासी, जनजातिका विरुद्ध, नेपालका सबै दलित, मधेसी, महिला सबैले पाएको त्यो अधिकार पनि खोस्ने र झण्डैझण्डै पहिलाको जस्तै निरंकुश शासनतिर नेपाललाई फर्काउने र उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने । तपाई हामीले अलि जातीय अधिकारको कुरा, समानताको कुरा, आत्मसम्मानको कुरा, स्वतन्त्रताको कुरा गर्यो भने हामीलाई जातिवादीको विल्ला भिराउने अनि आफूचाहिँ उच्च वर्ग, उच्च जातिको अहंकारवाद र अन्धराष्ट्रवाद लाद्ने यो षडयन्त्र भएको छ ।’

अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको अधिकार र पहिचान खोस्ने षड्यन्त्र भएको पनि बताउनुभयो । प्राप्त अधिकारहरुलाई खोस्नको निम्ति माओवादी आन्दोलन र प्रचण्डलाई प्रहारको निशाना बनाइएको पनि उहाँको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button