नृत्यतर्फको उपाधि नेपाल विद्यार्थी संघ तनहुँलाई, एकल गायनमा अरुण उत्कृष्ट

पोखरा न्यूज सम्वाददाता । सप्तरंगी सास्कृतिक प्रतिष्ठान नेपालले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधि नेपाल बिद्यार्थी मगर संघ  तनहुँले जितेको छ । पोखरा उद्योग वाणिज्य संघको हल गैह्रापाटन पोखरामा कुल १२ टिम बिच भएको अन्तिम प्रतिष्पर्धामा नेपाल बिद्यार्थी मगर संघ तनहुँको कौह्रा नृत्य प्रदेशमानै उत्कृष्ट बन्दै उपाधि जित्न सफल भएको हो । उपाधि विजेता टिमले नगद एक लाख रुपैयाँ नगदको साथमा प्रमाण पत्र र ट्रफी हात पार्न सफल बन्यो ।

प्रतियोगितामा म्याग्दीको लालिगुँरास पुन मगर समाजले प्रस्तुत गरेको थाली नृत्य द्धितीय भयो । यसैगरी कास्की सिक्लेस पार्चेको रोधी नृत्य तृतीय भयो । बिटुडि डान्स स्कुल कास्कीको झ्याउरे नृत्यले सान्त्वना स्थान प्राप्त गर्‍यो । द्वितीय हुनेले पचास हजार, तृतीय हुने टिमले पच्चीस हजार र सान्त्वना हुने टिमले १५ हजार रुपैयाँको साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यसका अलावा फाइनलिष्ट सबै टिमलाई नगद पाँच हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

लोक नृत्य तर्फ फाइनलमा पुग्नेमा नवलपुर कावासोतीबाट थारु नृत्य, लमजुङ सिउरुङ गाउँबाट झ्याउरे नृत्य, गोर्खाको उत्तरी धार्चेबाट मकै बिबाह नृत्य, पोखराबाट नेवाःल्याम्ह पुच बाट ताया मचा नृत्य, बाग्लुङ नगरपालिका वडा नम्बर ८ बाट सालैजो नृत्य, पर्वत जिल्लाको गोपाल योन्जन कला प्रतिस्ठानबाट झ्याउरे नृत्य, मार्फा थकाली सदन मुस्ताङबाट थकाली नृत्य र स्याङ्जा कोल्मा बहाकोटबाट झोरा नृत्य समेत रहेका थिए ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी बनेका २३ टिम मध्येबाट उत्कृष्ट १२ टिमका बिचमा अन्तिम प्रतिष्पर्धा गरिएको नृत्य प्रतियोगिताका संयोजक गोरे गुरुङले बताउनुभयो ।
नृत्य तर्फको फाइनल प्रतियोगिताको निर्णायकमा गम बहादुर गुरुङ, धन बहादुर गुरुङ, गम्भिर बर्देवा र राज बहादुर गुरुङ रहनुभएको थियो ।

त्यसोत सामूहिक लोकनृत्य प्रतियोगितालाई भव्य बनाउन गोरे गुरुङको संयोजकत्वमा उपसमिति चयन गरिएको थियो । जसको सह–संयोजकमा जसु गुरुङ रहनुभएको थियो । यसैगरी सदस्यहरुमा खिम कुमार गुरुङ, कृष्णप्रसाद भन्डारी, गजेन्द्र गुरुङ, लोक बहादुर गुरुङ, पशुपति गुप्ता, जुना क्षेत्री, सुकु हिराचन र शारदा भट्टराई रहनुभएको थियो ।

यसैगरी एकल गायन प्रतियोगिताकोे उपाधि पर्वतका अरुण सुनारले जित्नुुभयो । फाइनल प्रतिष्पर्धामा पुगेका १२ प्रतियोगी मध्ये अरुण उत्कृष्ट बन्दै पचास हजार रुपैयाँ सहित प्रमाण पत्र र ट्रफी हात पार्न सफल बन्नुभयो । गायन प्रतियोग्तिामा द्धितीय कास्कीकी संगीता गायक हुनुभयो । यसैगरी तृतीय स्थानमा म्याग्दीका राम घर्तिगिरी र सान्त्वना बागलुङका जीवन बिश्वकर्मा बन्न सफल हुनुभयो । द्वितीयलाई पच्चीस हजार, तृतीयलाई पन्ध्र हजार र सान्त्वनालाई सात हजार पाँच सय रुपैयाँको साथमा प्रमाणपत्र र ट्रफी पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

उत्कृष्ट १२ मा पुग्नेमा बिजेश नेपाली कास्की, अमन सुबेदी बाग्लुङ, योगेश गौतम स्याङ्जा, शान्त सुनार बागलुङ, कुसुम पुन मगर बागलुङ, अरुण सुनार पर्वत, सरिता राई कास्की, उपेश थापा कास्की, निर्मल बि.क बागलुङ समेत हुनुहन्थ्यो । गायन तर्फ पोखरा तथा बागलुङमा भएको अडिसनमा कुल ८१ जना नवप्रतिभाले सहभागीता जनाएका थिए । गायन प्रतियोगिताको फाइनलमा निर्णायकको जिम्मेवारी अजुदा थापा, विवि अनुरागी र विनोद वानियाले पाउनुभएको थियो ।

खुल्ला एकल गायन प्रतियोगिताको संयोजकमा भने नवराज बराल रहनुभएको थियो । सह–संयोजकमा सुमन श्रापित तथा सदस्यमा लक्ष्मी गिरी, पिङ्गला भट्ट, श्यामलाल श्रेष्ठ, पृथ्वी भुजेल, मन सुरागम, सुनिल बराल, रामजी पौडेल, सुर्य घतानी, सानु जोजिजू हुनुहुन्थ्यो ।
गण्डकी प्रदेश सरकार सामाजिक मन्त्रालयसँगको सहकार्यमा कार्यक्रम आयोजना भएको हो ।
एकल गायत तथा सामुहिक नृत्य प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, प्राज्ञ हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, साहित्यकार दुर्गा बहादुर शाह बाबा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्ता प्रतियोगिताले नेपाली लोकसंस्कृतिको संरक्षण गर्न सघाउने बताउनुभयो । नेपाली कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले गरिएका कार्यक्रममा गण्डकी प्रदेश सरकारले सहयोग गर्दै आएको उहाँको भनाई थियो । प्रदेश प्रज्ञा प्रतिष्ठानको गठन प्रश्चात अझै व्यवस्थित ढंगले काम गर्न सकिनेमा उहाँको विश्वास थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मनकुमार श्रेष्ठले गर्नुभएको थियो ।

सप्तरंगी सास्कृतिक प्रतिष्ठान नेपाल २०६४ सालमा दर्ता भएको संस्था हो । यसले कलाकार उपचार कोष मुद्धती खाता सञ्चालन गरेको छ । त्यसबाट विरामी हुँदा आर्थिक अभावका कारण उपचार गर्न असमर्थ हुने कलाकारलाई मुद्धती कोषबाट आएको व्याजबाट सहयोग गरिने गरिएको छ । प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्धेश्य यही कोषको रकमलाई बढाउने रहेको आयोजकले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button