म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग

पोखरा न्यूज । बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले तनहुँको म्याग्दे गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व वहनअन्तर्गत सूर्य नेपालले गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित चुरोट कारखानाका व्यवस्थापक बाबुराम कार्कीले गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेलाई बिहीबार एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको छ ।

कारखानाका व्यवस्थापक कार्कीले सामाजिक उत्तरदायित्व वहनअन्तर्गत कम्पनीले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले यस क्षेत्रको समग्र विकासका लागि स्थानीयवासीसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष रानाले कम्पनीले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै एम्बुलेन्सले सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो । रानाले सूर्य नेपालबाट यस क्षेत्रमा भइरहेको सहयोगको उच्च मूल्याङ्कन गर्दै भविष्यमा समेत यस्तै सहयोगको अपेक्षा गर्नुभयो ।

अब म्याग्दे गाउँपालिकामा दुईवटा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । यस अगाडि गाउँपालिकाले आफैँले पनि एम्बुलेन्स खरिद गरेको थियो । दुईवटा एम्बुलेन्स भएसँगै गाउँपालिकाका ग्रामीण भेगका सर्वसाधारणले सहजरूपमा सेवा पाउने गाउँपालिकाका प्रशासन शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो ।

सूर्य नेपालले विसं २०७७ असोज १४ गते शुक्लागण्डकी नगरपालिकालाई पनि एम्बुलेन्स हस्तान्तरण गरेको थियो । सूर्य नेपालले विगत लामो समयदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा अन्य सामाजिक विकासका विभिन्न क्षेत्रमा थुप्रै सहयोग गर्दै आइरहेको छ । सूर्य नेपालले विसं २०४३ देखि सिमरामा चुरोट उत्पादन गर्दै आएको छ । तराईमा असुरक्षा महसुस गर्दै कम्पनीले छ वर्ष अगाडि तनहुँको शुक्लागण्डकी नगरपालिकामा उद्योग स्थापना गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button