९६ वर्षीय वृद्धाले जित्नुभयो कोरोना

पाेखरा न्यूज ।  ९६ वर्षीय वृद्धाले कोरोना भाइरसको सङ्क्रमणलाई जित्न सफल हुनुभएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम कान्छी गाउँ घर हुनुभएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी कोरोनाबाट निको हुनुभएको हो । सात दिनअघि कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना सङ्क्रमण मुक्त भएपछि उहाँलाई घर पठाइएको गाउँपालिकाको कोभिड–१९ अस्पतालका डा सन्तोषप्रसाद बोहराले जानकारी दिनुभयो । ‘‘उहाँलाई अक्सिजन लगाएरै स्वास्थ्यकर्मीसहितको टोलीले अस्पतालमा ल्याउनुभएको थियो, अस्पतालमा ल्याउँदा उहाँमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक सातासम्म हामीले सम्भव भएसम्मको विधिबाट उपचार ग¥र्यौं, अहिले अक्सिजनको तह पनि ठीक छ, कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ, त्यसपछि उहाँलाई घर फिर्ता गरेका छौँ’’, डा बोहराले भन्नुभयो ।

अस्पतालसम्म ल्याइपु¥याउँदा मानिस चिन्न समेत छाडिसक्नुभएकी वृद्धा आमाले कोरोना सङ्क्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्कनुभएको पुनका छोरा खिमबहादुर पुनले बताउनुभयो । ‘‘अस्पतालको उपचारबाट हामी खुसी छौँ, शुरुमा आमाले मलाई समेत चिन्नुहुँदैन थियो, उपचार गर्दै जाँदा चिन्न थाल्ने हुनुभयो, डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर जाँच र हेरचाह गरेकामा हामी हर्षित भएका छौँ’’, पुनले भन्नुभयो ।

कोरोना जितेर निको भएपछि वृद्धा पुनलाई गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक विज्ञहरुबाट सिफारिस भएका औषधिहरु उपलब्ध गराएर बिदाई गर्नुभएको थियो । सो अवसरमा पुनले अस्पतालको सेवा र उपचारको क्रममा निःशुल्क खाना खाजाको सुविधाबाट प्रभावित भएर उक्त सेवाकै लागि रु सात हजार नगद समेत सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

रघुगङ्गाको कोभिड अस्पतालमा बिरामी र कुरुवाहरुलाई निःशुल्क खानाको समेत व्यवस्था गरिएको छ । स्थानीय नवसन्तोष सेवा युवा क्लब, सिवाइजी क्लब र रेडक्रस पिप्ले उपशाखाको अगुवाइमा स्थानीय युवाहरुले स्वयमसेवक रुपमा परिचालन भएर सहयोगदातामार्फत सहयोग जुटाएर बिहानदेखि बेलुकीसम्म नै भर्ना भएका बिरामी र उनीहरुका कुरुवालाई निःशुल्क खाना, खाजा खुवाउँदै आएको पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्लले जानकारी दिनुभयो ।

अस्पतालमा अहिलेसम्म ५६ जनाको उपचार गरिसकिएको छ । गत वैशाख २१ गतेबाट रघुगङ्गाले कोभिड अस्पतालबाट सेवा सञ्चालन गरेको थियो । अस्पतालमा आएका अधिकांश अक्सिजन लगाएर उपचार गराउनुपर्ने बिरामीहरु निको भएर घर फिर्ता भएका छन् । गाउँपालिकाले दुई सवारी साधनमार्फत बिरामीलाई अस्पतालसम्म ल्याउने र निको भएपछि घरमा पु¥याउने काम समेत गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button