मृत्यु बन्यो स्वादको व्यापार

मृत्युसँग कसैलाई प्रेम छैन तर पनि मृत्यु हाम्रो स्वाद भैसकेको छ

आफ्नो मृत्यु अनि आफ्नाको मृत्यु डरलाग्दो हुन्छ, तर मानिस अन्यको मृत्युलाई उत्सवका रूपमा मनाउँछ ।

मृत्यु सँगको स्वाद र सुगन्धमा रमाउँछ मानिस
अरूको मृत्युमा मजा लिन्छ मानिस
यहाँ थोरै कटु शब्द लेखिएको छ, तर यो सबै मनबाट मन कै लागि लेखिएको छ ।

मृत्युसँग कसैलाई प्रेम छैन तर पनि मृत्यु हाम्रो स्वाद भैसकेको छ ।

बाख्राको, राँगाको, चराहरूको, कुखुराको, काटिएको वा जिउँदो, ताजा भुरा वा ठुला माछा । मन्द आगोमा पकाइएको ।
माटोको भाँडोमा पकाएको ।
तारेको ।
थाहा छैन कति अनगिन्ती स्वाद छ मृत्यु मा ।
स्वाद छ मृत्युमा किन कि मृत्यु अरू कसैको हो, केवल स्वाद हाम्रो हो ।

स्वादको व्यापार बन्यो मृत्यु ।
कुखुरा पालन, माछा पालन, बाख्रा पालन वा फस्टाउँदो एग्रो फार्म ।
नाम “पालना“ तर उद्देश्य “हत्या“ बन्यो ।
यसरी मृत्यु घर खोलियो । त्यो पनि आधिकारिक । सरकारले दिन्छ अनुदान । कम व्याजमा ऋण ।
गल्ली गल्लीमा खोलिएका मांसाहारी रेस्टुरेन्ट, सडकमा खुल्ला मासु पसल, मृत्युकै व्यापार त हो । अन्य केही हो त ?
मृत्यु सँगको प्रेम र मृत्युको व्यापारमा रमाउने मानिस ।
किन की मृत्यु अन्यको हो न कि आफ्नो वा आफन्तको ।
मृत्यु उसको हो जो हामी सँग गुनासो गर्न सक्दैन,
मृत्यु उसको जो हामी भन्दा कमजोर छ ।
जो हामी जस्तो बोल्न सक्दैनन्, आफैँलाई अभिव्यक्त गर्न सक्दैनन्, आफूलाई सुरक्षित राख्न सक्षम छैनन्, ।
मानिस किन बाघको बलि वा सिकार गर्दैन ? मासुका लागि ?
हामीले कसरी उनीहरूको कमजोरीलाई हाम्रो शक्तिको रूपमा स्वीकार्यौं ?
हामीले कसरी महसुस गर्न सक्यौँ कि उनीहरूमा भावना छैन ?

डाइनिङ टेबलमा बुबाहरूले हड्डी तान्दै सिकाउँछन् कि,
छोरा, कहिल्यै कसैको मन नदुखाउनु ! तिम्रो कारणले कसैले लामो सास फेर्न नपरोस् ! तिम्रो कारणले कसैको पनि आँखामा आँसु नआओस् !

आफ्नो हातमा बचेको हड्डी जसमा भर्खर सम्म मासु थियो, जसमा कहिबेर अघि सम्म ज्यान थियो, जो भर्खर सम्म मसिनो आवाज निकाल्दै थियो, भर्खर सम्म खेल्दै थियो ।
त्यस हाडलाई देख्नुहुन्न, जुन शरीर थियो, जसमा आत्मा थियो, उ पनि एक आमा थियो, बाबा थियो ।
जसलाई काटियो होला ।
उसले विलाप गरे होला ।
तड्पियो होला । कसरी सास बाहिर आयो होला ?
उसले सरापे पनि होला है ?

कसरी विश्वास गर्न सकिन्छ ?
जब जब पृथ्वीमा अत्याचार बढ्नेछ,
तब तब भगवान्, मात्र तपाईँ मानवको रक्षा गर्न अवतार लिनुहुनेछ ?

के मौन जनावरहरू त्यही परमात्माका बच्चाहरू होइनन् ?
के मानवको रक्षा गर्ने भगवान्ले ती निरीह पशुहरूको सुरक्षा गर्नु हुने छैन ?
दुख लाग्दैन ?
आज, देखिएको कोरोना भाइरस ती पशुहरूका लागि भगवानको अवतार भन्दा कम छैन ?
जबदेखि यो भाइरसले विनाश गर्न थालेको छ, पशुहरू स्वच्छन्द रूपमा घुम्दै छन् ।
चराहरू चिरबिराउँदै रहेका छन् । तर मानिस ?

उनीहरूलाई पहिलो पटक पृथ्वीमा आफ्नै अधिकार भए जस्तो भएको छ । रूखहरू यस प्रकार अघि बढ्दै छन् जस्तो मानौँ उनीहरूले नयाँ जीवन पाएका छन् । लाग्छ पृथ्वीले समेत आरामको सास फेर्न पाएको छ । मानिस बाहेक सबैलाई औधी सजिलो भएको छ ।
ब्रह्मा द्वारा निर्मित यस मानव जुनी, हजारौँ जुनी पछि पाएको मानव चोलालाई यो कोरोना भाइरसले हाम्रो आफ्नो औकात देखाइदिएको छ ।
हामी घण्टी बजाउँदै छौँ । प्रार्थना गर्दैछौं ।
र हामीलाई यसबाट बचाउन बिन्ती गर्दैछौँ । हामी हाम्रो प्राणको भिख माग्दैछौँ ।

धर्मको आड लिई त्यो परमपिताको नाममा, त्यही देवी माताको नाममा बलि दिइरहेका छौँ, जसले मानव वा पशु सबैको सृष्टि गरेको छ ।
केवल आफ्नो स्वादको लागि बाख्रा रोज्नु हुन्छ, अनि तपाई दुर्गा माता वा भैरव बाबाको सामु बलि चढाउनुहुन्छ ।
कहिले तपाईँ आफ्नो स्वादका लागि माछा, कुखुरा वा राँगा बलि दिनु हुन्छ ।

कहिल्यै सोच्यौँ ?
कि, भगवानलाई कुन स्वाद मन पर्छ ? परमात्माको खाना के हो ?
तपाई कसलाई धोका दिँदै हुनुहुन्छ ? भगवानलाई ? अल्लाह लाई ? जेससलाई ?
वा आफैलाई ?

कहिले मानिन्थ्यो कि
मंगलबार माछा मासु खानु हुन्न !!!
आज शनिवार हो त्यसैले शाकाहारी रहने !!!
तर अहिले त्यो पनि हरायो । अहिले सब चलेको छ !!!
नवरात्रिमा ? लौ ? दशैं हो यसमा पनि कुनै प्रश्न गर्न मिल्छ त ?

असत्य माथि असत्य
असत्य माथि असत्य
असत्य माथि असत्य

यसमा पनि तर्क सुन्नुहोस्, फल र तरकारीहरूमा पनि त जीवन हुन्छ । फल तरकारी पनि खान भएन त्यसो भए ।
उसो भए सुन्नुस्
फलहरू, तरकारीहरूले एक अर्कामा संसर्ग गर्दैनन् । उनीहरूले कुनै आत्मालाई जन्माउँदैनन् ।
त्यसै कारण तिनीहरूलाई भोजनमा समावेश गराउन उचित छ । र शाकाहारी भन्ने गरिन्छ ।

संसारमा भगवान्ले केवल मानिसलाई मात्र बुद्धि दिनु भएको छ । किन कि सबै अनौठा योनीहरूमा बरालिएपछि हजारौँ जुनीको जन्म मृत्यु पश्चात् हामी मानव योनीमा जन्म पाएका छौँ र यही योनी बाटै मृत्युको चक्रबाट बाहिर निस्कन सक्नेछौँ भन्ने विश्वास लिएका छौँ ।
तर तपाईँ हामीले यो मानव योनीमा जन्म लिने बित्तिकै आफैलाई भगवान् ठान्न थाल्यौँ ।
आज कोरोनाको रूपमा हाम्रो मृत्यु हाम्रै सामु खडा छ । र हामी केही गर्न सकेका छैनौँ ।
हामी भन्ने गर्दथ्यौँ कि हामी जे प्रकृतिलाई दिन्छौँ, त्यो प्रकृतिले हामीतर्फ फर्काउनेछ । अहिले हामीले प्रकृतिलाई मृत्यु दिएका छौँ र मृत्यु मात्र फर्कँदै छ ।
लौ अव अघि बढ्नुस् !!!
र आलिङ्गन गर्नुस् मृत्युलाई !!!
यो भगवानको सङ्केत हो ।
प्रकृतिका साथमा रहनुहोस् ।
अनि प्रकृति कै भएर बाँच्नुहोस् ।
अन्यथा
ईश्वरले जसरी पृथ्वीबाट आफूले सृष्टि गरेका कैयौँ योनीहरूलाई लुप्त गराउनु भएको छ । त्यसरी नै मानव योनी समेत लुप्त गराउन एक क्षण पनि लाग्ने छैन ।

प्रकृति तर्फ हिँडौँ । प्रकृतिलाई आलिङ्गन गरौँ । प्राकृतिक बनौँ ।

उपेन्द्र अधिकारी
मोटिभेसनल स्पिकर,
९८५६०२५६३३
सिइओ अवाकस मेण्टल म्याथ

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. “मृत्यु उसको हो जो हामी सँग गुनासो गर्न सक्दैन,
    मृत्यु उसको जो हामी भन्दा कमजोर छ ।”
    मन छोयो, अत्यन्त राम्रो एवम् मनन गर्नुपर्ने लेख !

  2. यति राम्रो लेख, पढेर खुसी लाग्यो र लेख सान्धर्विक पनि ।

  3. आहा कटु सत्य निक्कै मर्मस्पर्शी सबैलाई बाच्न दिऊ)👏सलाम छ लेखन ज्युलाई!मैले मेरो बालमा सेयर गर्छु अनुमति दिनु ल👏

  4. लेख पढदा अति चित्त बुझ्यो तर स्वादको लागी विवेक गुमाउनेहरूमा केही भएपनि हलचल होस भन्ने अपेक्षा ……

  5. ओ हो यो मैले चाहेको तर मैले सोचे भन्दा फरक बिचारको सम्प्रेषण भएको पाउँदा अति खुशी लाग्यो, हो आज मानबियता यो लेखमा दर्शाइए भन्दा पनि बढी क्रूर बनेको छ।
    त्यसैले अलिकति चेतना भएको मनुष्य समाजमा बाकी छ भने यो पढेर आफ्नो मुखको स्वादलाई बसमा राखौ र एउटा बिबेकशिल सन्देश समाजलाई दिउ नत्र हेर्दै जाउ कहिँ छिमेकिको सन्तान नहराउन…..?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button