खोलाले बगाएका २ व्यक्तिको उद्धार, १ सय ५० घरधुरी विस्थापित

पोखरा न्यूज । पूर्वी चितवनको कयरखोलाले बगाएका दुई व्यक्तिको सकुशल उद्धार गरिएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयरखोलाको बाढीले बगाउँदा स्कुटरमा सवार एक पुरुष र एक महिलालाई पनि बगाएको थियो । खोलाले स्कुटरसहित मान्छे बगाएपछि इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उद्धार गरेको हो ।

स्कुटर भने खोलाले बगाएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरुलाई खोलाले आज बिहान ८ः३० बजे बगाएको थियो । खोलाबाट उद्धार गरेसँगै उनीहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

१ सय ७० परिवारलाई स्थानान्तरण

निरन्तरको वर्षाका कारण पूर्वी चितवनको पंफाखोलामा आएको बाढीका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार राप्ती नगरपालिका वडा नं ७ र ८ का भवानीपुर, सुन्दरबस्ती र खुरखुरेलगायत क्षेत्रका बस्तीमा खोला पस्दा ती परिवार विस्थापित भएका हुन् ।

बाढीको जोखिममा रहेका उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यहाँ रहेका ४०० जनालाई सुरक्षित ठाउँमा सारिएको हो । यस्तै बूढी राप्तीमा आएको बाढीले डुबान गर्दा २० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार रत्ननगर नगरपालिका–८ रमाइलोडाँडामा बाढी पस्दा २० परिवारका १०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

चट्याङ लागेर घाइते

चट्याङ लागेर एक महिला घाइते हुनुभएको छ । चितवनको राप्ती नगरपालिका–९ लालपुरकी ४५ वर्षीया बिजुली श्रेष्ठलाई आफ्नै घर नजिक धान रोप्ने क्रममा चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार बिहान ८ः३५ बजे श्रेष्ठलाई चट्याङ लागेको हो । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि भरतपुर ल्याइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button