तनहुँमा पहिरोले २१ पशुचौपाया मरे, १२ सय रोपनी खेतको धानबाली नष्ट

पोखरा न्यूज । गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण पहिराले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैँसी मरेका छन् । पहिरामा परी दुई घरपरिवारका बाख्रा भैँसी मरेका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ ढोरफिर्दी निवासी टेकबहादुर महतको गोठमाथिबाट आएको पहिराले १० बाख्रा र एक भैँसी मरेको छ ।

त्यसैगरी सोही वडास्थित चेतबहादुर भुजेलको घर माथिबाट आएको पहिराले नौ बाख्रा र एक भैँसी पुरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । पहिराले पुरिएका ५५ वर्षीय खगिमाया भुजेल र १४ वर्षीय विज्ञान भुजेललाई जीवितै उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उनीहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।

बाह्र सय रोपनी खेतको धानबाली नष्ट

तनहुुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित रहेको ढोरफिर्दीको झण्डै एक हजार २०० रोपनी खेतमा पसेको बाढीले धानबाली नष्ट गरेको छ । केही दिनदेखिको निरन्तरको वर्षापछि बाराहीखोलामा आएका बाढीले बालुवा र हिलो खेतमा पुर्याएपछि भर्खरै लगाएको धानसहित खेत पुरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मी जानकारी दिनुभयो ।

“हामी महाविपत्तिको सामाना गरिरहेका छौँ, हाम्रो वडावासीको खेत पुरेको अवस्था छ, घरहरु डुबानमा परेका छन् । सडक सबै अवरुद्ध छन्”, वडाध्यक्ष रेग्मीले भन्नुभयो । उहाँका अनुसार वडाको डहरे बस्तीका झण्डै ६५ परिवार बाढी र वर्षापछिको डुबानमा पर्ने उच्च जोखिममा रहेका छन् । उनीहरूलाई अन्य सुरक्षित क्षेत्रमा सर्न अनुरोध गरिएको छ ।  रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button