माथिल्लो मनाङमा यातायात सुचारु

नवीन लामिछाने, पोखरा न्यूज ।  माथिल्लो मनाङमा यातायात सुचारु भएको छ । यही असारको पहिलो हप्ता आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । बाढीपहिराले क्षति पुर्याएको सडक मर्मत गरिएपछि माथिल्लो मनाङमा यातायात सञ्चालनमा आएको ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार प्राबिधिक टोली सहितको अनुगमनपश्चात यातायात सञ्चालन भएको छ ।

मनाङ समाज र पूर्व सांसद पोल्देन छोपाङका सहयोगमा यातायात सञ्चालनमा ल्याइएको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो । “ गाउँपालिकाभित्र मात्रै सवारी सञ्चालनमा ल्याइएको छ, सामान ढुवानी गर्न भने सहज भएको छ,” उहाँले भन्नुभयो । खाङ्सारसम्म सामग्री ल्याउन लैजान सहज भएको उहाँले बताउनुभयो ।

जिल्लोको तल्लो भागमा सडक सञ्जाल पूर्ण रुपमा अवरुद्ध भएको छ । माथिल्लो मनाङमा सडक सञ्जालमा कम क्षति भएकाले सवारी चलाउन लागिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । तल्लो भागमा भने सञ्चालन गर्न सक्ने अवस्था नरहेको लामिछानेले बताउनुभयो । “खाङ्सारदेखि माथिल्लो पिसाङसम्म आवतजावत गर्न मिल्छ भने त्यहाँबाट तल्लो भागमा सवारी चल्न सक्दैन,” उहाँले भन्नुभयो ।

भ्राताङको भीर भने बम ब्लाष्टिङ गरेर मात्रै बाटो बनाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “नेपाली सेनासँग सहकार्य गरी बम ब्लाष्टिङ गरेर सडक सञ्जाल निर्माण गर्नुपर्नेछ, बनाउने तयारी गरिरहेका छौं,” उहाँले भन्नुभयो । जिल्लामा सडक सञ्जाल सहज बनाउने प्रयासमा रहेपनि धेरै ठाउँमा निसान समेत मेटिएकाले सकस भएको छ । सदरमुकाम चामेसम्म पुग्ने अवस्था भने छैन । माथिल्लो पिसाङ र तल्लो पिसाङको पुल मस्र्याङ्दी नदीमा आएको बाढीले बगाएपछि विच्छेद भएको छ । लमजुङदेखि मनाङलाई सडक सञ्जालसँग जोड्नका लागि सडक डिभिजन प्राधिकरणले शुरुआत गरिसकेको छ । अहिले जिल्लाबाट अन्यत्र जान जङ्गलको बाटो भएर हिड्नुपर्ने अवस्था छ । जिल्लाको तल्लो भागका एक गाउँबाट अर्को गाउँ जानका लागि गोरेटो बाटो समेत छैन । मस्र्याङ्दी नदीमा बहाव केही कम भएपनि नदीले कटान भने रोकिएको छैन । यसले गर्दा केही गोरेटो बाटो बनाएपनि नदीले बगाएको छ ।

नियमित खोप सेवा रोकियो

जिल्लामा बाढीपहिरोका कारण बालबालिकालाई लगाइने नियमित खोप सेवा कार्यक्रम प्रभावित भएको छ ।

बाढीपहिरोले जिल्लामा आवागमन रोकिएपछि बालबालिकालाई नियमित खोप लगाउन स्वास्थ्य संस्थामा लैजान नसकिएको अवस्था छ । बालबालिकालाई लगाइने खोप अहिले जिल्लाका चार स्थानीय तहमा प्रभावित भएको जनस्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले जानकारीदिनुभयो ।

उहाँले भन्नुभयो,“नियमित खोप बालबालिकाहरुका लागि अत्यावश्यक सेवा अन्तर्गत पर्दछ । बाढीपहिरोले मानवीय स्वास्थ्यमा ठूलो असर पारेको छ । एक ठाउँबाट अर्कोठाउँमा जान सकिरहेको छैन । स्वास्थ्यकर्मी पनि बाढीपहिरोका चपेटामा परेका छन् ।”

बाढीपहिरोका कारण बच्चालाई खोप लगाउनका लागि स्वास्थ्य संस्था जान सकेका छैनन् । खोपका अभावमा बालबालिकामा रोगहरूसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने प्रमुख आचार्य बताउनु हुन्छ । उहाँका अनुसार जिल्लामा अहिले दादुरा–रुबेला तथा कोभिड–१९ विरुद्ध लगाइने खोप रोकिएको छ । आगामी साउनदेखि बाढीपहिरोले प्रभावित गाउँपालिकामा खोप कार्यक्रम शुरु गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । प्रत्येक वर्ष जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई १२ प्रकारका खोप निःशुल्क लगाउने गरिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button