तनहुँमा बाढी पहिरोले १८ घरमा क्षति

पोखरा न्यूज । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारणको तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित खहरेमा छ घर बगाएको छ । स्थानीय खहरेखोलामा आएको बाढीले घर बगाएको हो । खोलाले घर बगाए पनि मानवीय क्षति नभएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो । बन्दीपुर क्षेत्रमा अत्यधिक वर्षा भएकाले सबैलाई सचेत रहन गाउँपालिकाले सुरक्षित भएर बस्न आग्रह गरेको छ ।

खोलाले घर बगाएपछि छ घरका मानिस नजिकैको आमा समूहको भवनमा आश्रय लिइरहेका छन् । केही दिनअघि बाढीले सोही स्थानमा दुई घर बगाएको थियो । सो स्थानका मात्रै आठ घरपरिवार अहिले घरबारविहीन बनेको उहाँले बताउनुभयो ।

ऋषिङमा बाह्र घरमा क्षति

तनहुँको ऋषिङ गाउँपालिकामा पहिराबाट १२ घरमा क्षति पुगेको छ । पहिराले घर पुरे पनि मानवीय क्षति भने  नभएको गाउँपालिका कार्यालयले जनाएको छ । ऋषिङ–५ पिपलटाका १० घरमा पहिराले क्षति पुर्याएको छ । स्थानीय नेत्रबहादुर पाटा, धनबहादुर सोती, सुकबहादुर दरै, दिलबहादुर दरै, कृष्णबहादुर दरै, बुद्धिबहादुर दरै, रजनी दरै, रीता दरै, मनबहादुर दरै र जसबहादुर पाटाको घरमा क्षति भएको छ । सोही निवासी सीता केसीको घर पुरेर क्षति पुगेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

बाढीले करिब १० रोपनी क्षेत्रफलमा लगाइएको मकै बाली क्षति भएको उहाँले बताउनुभयो । उनीहरुको परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । ऋषिङ–४ निवासी वडा सदस्य टोलनाथ थापाको घर पहिराले पुरेको छ । घरमाथिबाट रुखसँगै पहिरो आएर घर पुरेको वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिनुभयो ।

त्यसैगरी गत बुधबारदेखिको वर्षाका कारण तनहुँमा एकको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । पहिरामा परी ऋषिङ–८ माझकोटका (गाउँपालिकामा सुरक्षा गार्डको रूपमा कार्यरत) खुमबहादुर आले पहिरामा परी बेपत्ता भएका हुन् । उहाँको खोजी तथा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । निजका तीन भैँसी पुरिएकामा एक भैँसीको सकुशल उद्धार गरिएको छ ।

सोही वडाको गैह्रास्वरामा एक घर क्षतिग्रस्त र तल्लो छापस्थित कृति–नारायण विद्यालयको रेलिङ भत्किएर क्षति भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । ऋषिङ–५ राम्जाकोटमा एक घर क्षतिग्रस्त र दुई घर जोखिममा रहेका छन् । ऋषिङ–६ मा दुई घर र केही वस्तु गोठ जोखिममा छन् । ऋषिङ–४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मज्योति विद्यालय भवन जोखिममा छ भने गाउँपालिकाभित्रका लगभग सबै क्षेत्रमा सडक यातायात अवरूद्ध अवस्थामा छन् । थुप्रै ठाउँमा खेतबारी बगाएको र बाली नष्ट भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button