म्याग्दीमा भिरबाट खसेको जिप रुखमा अड्कियो: १ को मृत्यु, ८ घाइते

पोखरा न्यूज । म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित आठ सामान्य घाइते भएका छन् ।

मृत्युहुनेमा धौलागिरि गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार ताकमदेखि दरबाङ हुँदै बेनीतर्फ आउँदै गरेको ग१ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ–धारापानी सडकअन्तर्गत बादिकाको भिरबाट खसेको थियो ।

चालक आकाश रसाइलीको निधार र घाँटीमा चोट लागेको छ । घाइतेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ । सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किदासम्म जिपभित्रै रहेका यात्रु बाँचेका हुन् । जिपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताउनुभयो ।

स्थानीयवासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए । दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ । दुर्घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button