फिल्म ‘हुक्का’ सम्पादनको क्रममा, फूलपातीको दिनमा रिलिज गर्ने लक्ष्य

राजाराम पौडेल । पोखराको टिमले निर्माण गरेको नेपाली फिल्म ‘हुक्का’ को सम्पादनको काम भइरहेको छ । कोरोना महामारीका कारण बनेको असहज समयका बाबजुद फिल्मको सम्पादन काम भइरहेको निर्देशक शम्भु थापाले पोखरा न्यूजलाई जानकारी दिनुभयो । फिल्मको लागि अडियो डविङ नमस्ते पोखरा बोर्डकास्टिङ स्टुडियो पोखरामा भएको थियो ।

कोरोना महामारीका कारण फिल्म प्रदर्शन गर्ने अवस्था अहिले छैन । अवस्था कहिले सहज होला यसै भन्न सक्ने अवस्था समेत देखिदैन । तरपनि हुक्का टिमले आउँदै गरेको नेपालीको महान् पर्व दशैंको फूलपातीको दिन फिल्म प्रर्दशन गर्ने लक्ष्य राख्दै काम गरिरहेको निर्देशक थापाको भनाई छ ।

‘सम्पादनको काम अन्तिम चरणमा पुगेको छ, अब बांकी सबै काम सकेर फूलपातीको दिनमा रिलिज गर्ने तयारी गर्दै छौं, सबै काम काठमाडौंमा भैरहेको छ, हेरौं अब कस्तो हुन्छ’ निर्देशक थापाले भन्नुभयो ।

निर्माण टिमले फूलपातीको दिनमा फिल्म रिलिज गर्ने लक्ष्य राखेको भएपनि कोरोना कहरका कारण पुनः स्मार्ट लकडाउनको सुरुवात भएकोले हलमा नै फिल्म प्रदर्शन हुन भने गाह्रो छ । सोही कारण फिल्मलाई डिजिटल प्लेटफर्म मार्फत रिलिज गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । ‘फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गर्नेछौ, पछि अवस्था सामान्य भएपछि हलमा समेत प्रदर्शन गरौला’ थापाले भन्नुभयो ।

निर्माताको अनुभव बटुली सक्नुभएका थापाको यो डेब्यु निर्देशन हो । डेब्यु निर्देशन भएपनि सोचे भन्दा सहज भएको उहाँको भनाई छ । फिल्ममा प्रकाश घिमिरे, सन्तोष कुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अस्मिता न्यौपाने, कुमार गुरुङ, शम्भु थापा, तलिसा गुरुङ, अर्जुन गोदार आदी कलाकारको अभिनय हेर्न पाइनेछ ।

‘हुक्का’ फिल्मको कार्यकारी निर्मातामा कमल बहादुर भुजेल, किरण कुमार आत्रेय रहनुभएको छ । यस्तै निर्मातामा पार्वती थापा, सुशिला गुरुङ, सागर गोदार थापा हुनुहुन्छ । फिल्मको कथा सन्तोष कुमार आत्रेयले लेख्नुभएको हो । पटकथा लेखनमा सन्तोष कुमार आत्रेयलाई भगवान पौडेलले साथ दिनुभएको छ ।

आफूले आजभन्दा झण्डै तीन वर्ष अगाडि कथा लेखेको लेखक सन्तोष कुमार आत्रेयले पोखरा न्यूजलाई बताउनुभयो । फिल्ममा पैसाको महत्व तथा पैसाको कारण जीवनमा आएका विभिन्न उतारचढावलाई आर्कषक ढंगले पस्किएको फिल्मको मुख्य पात्र समेत रहनुभएका आत्रेयले खुलाउनुभयो । ‘फिल्म समाजिक कथामा बनेको छ, कथा मैले आजभन्दा तीन वर्ष अगाडि लेखेको हुँ, कथा लेखिसकेपछि निर शाहलाई देखाएको थिए,उहाँले मन पराउनुभएको थियो, फिल्ममा पैसाको महत्व, जीवनमा आएका विभिन्न उतार चढावलाई समावेश गरिएको छ । आशा छ फिल्मले दर्शकको माया र साथ पाउनेछ’ आत्रेयले भन्नुभयो । फिल्म मार्फत गाउँघरमा हुने घटनालाई जस्ताको तस्तै पस्कन खोजेको लेखक आत्रेयको भनाइ छ ।

फिल्ममा सिनेमेट्रोग्राफर जिम्मा कृष्ण बहादुर थापाले पुरा गर्नुभएको हो भने रंग संयोजन राजेन्द्र मोक्तानले गर्नुभएको छ । फिल्मको सम्पादन जिम्मा दिर्घ खड्काले पाउनुभएको छ । फिल्मको प्रोडक्सन मेनेजर शेरमान जिसी र सुधन थापा, चिफ एसिस्टेन्ट निर्देशकमा मिठो कम्पन, सह– निर्देशकमा भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेय, श्रृंगारमा श्याम लामा तथा ड्रेसको जिम्मा भिम श्रेष्ठले पुरा गर्नुभएको छ ।

झण्डै लगानी १ करोडको लगानीमा निर्माण भएको यो फिल्मको छायाकंन पोखरा आसपासका ग्रामिण भेगमा गरिएको हो ।

निर सिनेमा र स्पाइनि बेब्लर क्रियसनको संयुक्त प्रस्तुतिमा फिल्म निर्माण भएको हो । फिल्ममा हिमाज सिनेमाले सहकार्य गरेको छ । पोखराबाट नै वर्षको एउटा फिल्म निर्माण गर्ने योे टिमको योजना रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button