कांग्रेसको वडा अधिवेशनमा तनहुँमा केन्द्रीय नेताले जमाए अड्डा

शिक्षक संघमा आवद्धलाई निर्वाचन अधिकृतको जिम्मेवारीमा

पाेखरा न्यूज । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार हुने वडा अधिवेशनको सरगर्मी बढेको छ । निषेधाज्ञाकै बेला हुन लागेको वडा अधिवेशनमा वडा सभापतिका आकांक्षी यतिबेला नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् ।

तनहुँमा उम्मेदवारहरूले सामाजिक सञ्जालमा समेत मत माग्न थालेका छन् । चिया पसल, चौतारी, चोकचोकमा वडा अधिवेशनको चर्चा चुलिएको छ । कसले कुन वडामा सभापति जित्छ भन्ने चासो र विश्लेषण हुन थालेको छ ।

शुक्रबार तनहुँका १० स्थानीय तहको ८५ वडामा निर्वाचन हुनेछ । केन्द्रीय निर्वाचन समितिले तनहुँमा फणिन्द्र कोइरालालाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ । सहायक मतदान अधिकृतमा डिएलए तनहुँका अध्यक्ष चन्द्रकान्त वाग्ले र प्राध्यापक केशवराज काफ्ले नियुक्त हुनु भएकाे  छ । सबै वडामा पनि निर्वाचन अधिकृत तोकिएको छ ।

नेपाल शिक्षक संघमा आबद्ध शिक्षकलाई वडाको निर्वाचन अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ । जिल्लामा वडा अधिवेशनको निर्वाचन कार्यतालिका तय भइसकेको छ । बिहान ९ देखि ४ बजेसम्म उम्मेद्वारी दर्तादेखि मतदानको अवधि ताेकिएकाे छ।

कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेले वडा अधिवेशनको तयारी पूरा भइसकेको बताउनु भएकाे छ । ‘निर्वाचन अधिकृतलाई प्रशिक्षण दिएर निर्वाचन सामग्रीसहित वडामा खटाइसकेका छौँ,’ आलेले भन्नु भयाे ।

वडामा सकभर सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको उहाँको भनाइ छ । ‘सर्वसम्मत नेतृत्व चयनको प्रयासमा छौँ । धेरैतिर सर्वसम्मत होला जस्तो छ’, आलेले भन्नु भयाे, ‘सर्वसम्मत नभए निर्वाचनमा जान्छौँ । हाम्रो पार्टीले निर्वाचनलाई सहज रुपमा लिने गर्छ ।’

स्थानीय तहको निर्वाचन नजिकिँदो छ । कांग्रेसको महाधिवेशनमा हुने जितहारले स्थानीय तहको निर्वाचनलाई पनि केही प्रभाव पार्ने देखिन्छ । तर नेता आलेले यस्तो विश्लेषणलाई अस्वीकार गर्नु भएकाे छ ।

वडा अधिवेशनले एक सभापतिसहित उपसभापति, सचिव र सहसचिव दुई / दुईजना निर्वाचित गर्नेछ । खुला र समावेशीतर्फ १५ जना सदस्य पनि निर्वाचित हुनुपर्ने प्रावधान छ । निर्वाचित १५ मध्ये एकजनालाई कोषाध्यक्ष पदमा वडा कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । निर्वाचित वडा समितिले २० प्रतिशत सदस्य मनोनीत गर्नेछ ।

तनहुँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला हो । जसकारण वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको नतिजाले केन्द्रसम्म अर्थ राख्छ ।
वरिष्ठ नेता पौडेलको गृहजिल्ला भए पनि यहाँ गुटगत राजनीति हाबी छ । सभापति शेरबहादुर देउवा निकट मानिने पूर्वमन्त्री शंकर भण्डारी, युवा नेता प्रदीप पौडेल, पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको छुट्टाछुट्टै गुट छ । वडाको अधिवेशनमा पनि ती गुटको प्रभाव पर्ने पक्का देखिन्छ ।

पार्टीका केन्द्रीय सदस्य भण्डारी र गोविन्द भट्टराई, आमन्त्रित सदस्य धूव्र वाग्ले यतिबेला गृहजिल्लामा हुनुहुन्छ। युवा नेता पौडेल पनि तनहुँ आउने कार्यक्रम छ। वरिष्ठ नेता पौडेल भने वडा अधिवेशनको सन्दर्भमा जिल्ला आउने अहिलेसम्म टुंगो छैन ।

वडा तहको अधिवेशनमा पनि केन्द्रीय नेता लाग्नुलाई पार्टीका नेता कार्यकर्ताले उचित मानेका छैनन् । ‘वडामै केन्द्रीय सदस्यले आफू निकट जिताउन लाग्नु राम्रो होइन, यसले गुटगत राजनीतिलाई बढावा दिन्छ’, एक नेताले भन्नु भयाे । केही नेता कार्यकर्ता भने कन्द्रीय सदस्य गृहजिल्ला आउनुलाई सामान्य नै लिन्छन् ।

कांग्रेस जिल्ला समिति सचिव विश्व बास्तोलाका अनुुसार तनहुँमा १४ हजार पाँच सय १४ जना क्रियाशील सदस्य छन् । सात हजार पाँच सय ७९ नयाँ क्रियाशील सदस्य थपिएको उहाँले जानकारी दिनु भएकाे छ । ६ हजार नौ सय ३५ जनाले क्रियाशील नवीकरण गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button