पढ्ने झन्झटबाट बच्न फिल्ममा लागेका थिए रणवीर कपुर

पाेखरा न्यूज । बलिउड स्टार रणवीर कपुरले आज आफ्नो ३९ औं जन्मदिन मनाइरहनु भएकाे छ । रकस्टार, बर्फी, सन्जुजस्ता सुपरहिट फिल्म दिनु भएका रणवीर २८ सेप्टेम्बर १९८२ मा मुम्बईमा जन्मिनु भएकाे हाे ।

 

बच्चामा निकै चकचके स्वभावका उहाँ पढ्न पटक्कै मन गर्नुहुँदैनथ्याे। स्कुल गए पनि उहाँले धेरै पटक कक्षा छाडेर शिक्षकको गाली खानुपरेको थियो । खेलकुदमा चाहिँ निकै रुचि राख्ने उहाँ कहिल्यै अभिनेता बन्ने सोचमा हुनुहुन्थेन रे । एक टिभी शोमा उहाँले आफू पढ्नुको झन्झटले फिल्ममा लागेकोसमेत बताउनु भएकाे थियाे। यस्तो छ उहाँको बाल्यकाल र फिल्मी करिअर :

पढ्ने झन्झटले फिल्ममा

पढ्ने भनेपछि मरेजस्तो गर्ने रणवीर खासमा आफू पढाइबाट बच्नका लागि फिल्ममा आएको बताउनुहुन्छ । ‘हाम्रो परिवारमा सबैभन्दा बढी पढेको मै हुँ,’ केही समयअघि उहाँले कपिल शर्मा शोमा भन्नुभएकाे थियाे, ‘हाम्रो परिवारमा सबैले कम पढेका छन् । मेरो बुबा ऋषि कपुरले त स्कुलसमेत पास गर्नुभएको छैन । मैले त १२ क्लाससम्म पढेको छु । यो धेरै हो ।’ उहाँले आफूलाई बच्चैदेखि पढ्न मनै नलाग्ने, तर खेलकुदमा भने बहुत रमाइलो लाग्ने गरेकाले पढाइ कमजोर भएको बताउनु भएकाे थियाे । ‘खासमा म कलाकार बन्नै चाहन्नथें । मलाई कुनै रुचि थिएन । तर, जब मलाई थाहा भयो, फिल्म उद्योगमा लाग्यो, यतै व्यस्त भइयो भने पढाइतिर लाग्नुपर्दैन । त्यसैले म पढाइबाट बच्नका लागि फिल्ममा लागेको हुँ ।’

स्कुल सकेपछि उहाँ फिल्म पढ्नका लागि अमेरिका जानुभएकाे थियाे। त्यसपछि उहाँ सन् १९९९ मा ‘आ अब लौट चले’ फिल्ममार्फत असिस्टेन्ट डाइरेक्टरका रूपमा फिल्म उद्योगमा कदम राख्नुभएकाे थियाे ।

ऐश्वर्यालाई ‘एम्प्रेस्ड’ गर्न बोले झुट

रणवीरले ‘आ अब लौट चले’ मा सहायक निर्देशकका रूपमा काम गर्नुभएकाे थियाे । त्यो फिल्ममा अभिनेत्री हुनुहुन्थ्याे ऐश्वर्या राय । रणवीर त्यतिबेला ऐश्वर्याका कट्टर फ्यान हुनुहुन्थ्याे । उहाँ ऐश्वर्यालाई ज्यादै मन पराउनुहुन्थ्याे । उहाँले लन्डनमा फिल्म सुटिङ भइरहेको बेलामा ऐश्वर्यालाई प्रभावित पार्न झुट बोल्नुभएकाे थियाे । उहाँले आफूले ६५ प्रतिशत नम्बर ल्याएको भनेर गफ लगाउनु भएकाे थियाे। खासमा उहाँको नम्बर ५४.३ प्रतिशत मात्रै थियो । त्यसको झन्डै १७ वर्षपछि ऐश्वर्या र रणवीर प्रेमीप्रेमिका भएर अभिनय गर्नुभयाे– ए दिल है मुस्किलमा । सो फिल्ममा उहाँहरूको बोल्ड सिन देखेर दर्शकहरू चकित परेका थिए ।

८ कक्षामै पहिलो गर्लफ्रेन्ड

केही वर्षयता आलिया भट्टसँग प्रेममा रहनु भएका रणवीर गर्लफ्रेन्ड बनाउने मामिलामा बच्चैदेखि माहिर हुनुहुन्थ्याे । उहाँले आफूले ८ कक्षामै पहिलो गर्लफ्रेन्ड बनाएको बताउने गर्नुहुन्छ। उहाँले गर्लफ्रेन्डलाई आफ्नो घरको छतमा भेट्न बोलाउनु भएकाे थियाे । गर्लफ्रेन्ड पहिला नै गएर छतमा लुक्नुभएकाे थियाे । जब रणवीर छतमा गएर गर्लफ्रेन्डलाई अंगालो हाल्न हात फैलाउनु भयाे, युवती डराउँदै त्यहाँबाट भाग्नुभएकाे थियाे ।

साँवरिया हैन पहिलो फिल्म

रणवीर अभिनित पहिलो फिल्मका रूपमा सञ्जयलीला भन्सालीले सन् २००७ मा निर्माण गरेको साँवरियालाई लिइन्छ । खासमा रणवीरले अभिनय गरेको पहिलो फिल्म साँवरिया होइन । उहाँले सन् २००४ मै एउटा सर्ट फिल्म खेल्नुभएकाे थियाे। त्यो फिल्म थियो, बिआर चोपडाका नाति अभय चोपडाले निर्माण गरेको- कर्मा । त्यो सर्ट फिल्म स्टुडेन्ट अस्कर अवार्डको नोमिनेसनमा समेत परेको थियो । रणवीरको साँवरिया फ्लप फिल्म हो । फिल्म फ्लप भए पनि उहाँको अभिनयले भने तारिफ पाएको थियो । त्यसपछि आजसम्म रणवीरले पछि फर्केर हेर्नुपरेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button