पोखरामा बालबालिकाले अस्पताल भरिभराउ, भर्ना हुने अधिकांशलाई अक्सिजन आवश्यक

पोखरा न्यूज । पोखराका अस्पतालमा बिरामी बालबालिकाहरूको संख्या बढेको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, ओम हस्पिटल, गण्डकी मेडिकल कलेज लगायतका हस्पिटलहरूमा बिरामी बालबालिकाहरूको चाप बढेको हो ।

विशेष गरी पोखरा  स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामी बालबालिकाको संख्या ह्वात्तै बढेको छ । अस्पतालमा दिनहुँ एक सय भन्दा बढी बिरामी बालबालिका आउने गरेको अस्पतालका बाल रोग विभाग प्रमुख एवं वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले बताउनुभयो ।

बालबालिकामा ज्वरो, रुघाखोकी सँगै निमोनियाका लक्षण देखा पर्ने गरेको उहाँले बताउनुभयो । डा. बास्तोलाका अनुसार अस्पतालमा आएका ९५ प्रतिशत भन्दा बढी बालबालिकामा ज्वरो र रुघाखोकी देखिएको र त्यस मध्यमा पनि अधिकांशलाई निमोनियाका लक्षण देखा पर्ने गरेको छ ।

‘पछिल्लो समय दिनमै एक सय भन्दा बढी बालबालिकाहरू अस्पताल आइपुग्ने गरेका छन्, उहाँले पोखरा न्यूजसँग भन्नुभयो, ‘बच्चा बच्चीहरूमा ज्वरो र रुघाखोकीसँगै निमोनियाको लक्षण धेरै देखिएको छ ।’

उहाँका अनुसार निमोनिया भएकाहरूमा पनि एकै खालको छातीको संक्रमण देखा परेको छ । यस्ता बिरामी बालबालिकाहरूले अस्पतालको बेड भरिभराउ भएको उहाँले बताउनुभयो । ‘अहिले निमोनिया देखिएका सबै जसो बिरामीहरूमा एकै खालको छातीको संक्रमण देखा परेको छ, डा. बास्तोलाले भन्नुभयो, ‘र, उनीहरूमध्ये अधिकांशमा अक्सिजन लेबल घटेकाले अक्सिजन दिनुपर्ने देखिएको छ ।’

डा. बास्तोलाका अनुसार यस्तो समस्या देखिएका बालबालिकाले अस्पतालको ६ बेडको पीआइसीयु र १६ बेडको अक्सिजन, मनिटर सहितको एचडीयू भरिभराउ भएको छ । अस्पतालमा आएका मध्ये अक्सिजन चलाउनुपर्ने अवस्था नदेखिएका र उच्च ज्वरो नभएका धेरैलाई औषधि दिएर पठाउने गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय बालबालिकामा भाइरल निमोनियाको मात्रा धेरै देखिएको र कोभिड जाँच गर्दा अधिकांशमा कोभिड पनि नदेखिएको हुँदा के कस्तो कारणले यस्तो खालको संक्रमण फैलिएको छ भन्ने पत्ता लगाउन जरुरी देखिएको डा. बास्तोलाले बताउनुभयो । पश्चिमाञ्चल अस्पतालमा फाल्गुन ३ गतेबाट पीआइसीयु सञ्चालन गरिएकोमा भदौ यता पूर्ण रूपमा भरिएको र एचडीयूका बेडहरू साउनबाट सुचारु गरिएकोमा सधैँ जसो भरिएको उहाँले बताउनुभयो ।

यस अवधिमा अस्पतालमा भर्ना भएका २५० भन्दा बढी बालबालिकाले पूर्ण रूपमा स्वास्थ्य लाभ गरेर घर फर्किएको र १५ जना बालबालिकाको दुखद निधन भएको उहाँले बताउनुभयो ।

डा. बास्तोलाले पोखराको ओम हस्पिटलमा पनि दिनहुँ ४० देखि ५० जना बालबालिका पुग्ने गरेकोमा सबै जसोमा समान प्रकृतिको लक्षण देखा परेको बताउनुभयो । उहाँले पोखराका अन्य अस्पतालमा पनि बुझ्दा अवस्था लगभग उस्तै पाइएको भन्दै अहिलेको अवस्थामा बालबालिकालाई सकभर लामो यात्रामा लिएर ननिस्कन तथा भिडभाड र बिरामीहरूको सम्पर्कबाट बालबालिकालाई जोगाउन उहाँले आग्रह गर्नुभयो ।

यता जीएमसी (गण्डकी मेडिकल कलेज) हस्पिटलमा पनि यस्ता बिरामीहरूको संख्या बढ्दो छ । अस्पतालको ओपिडी र इमर्जेन्सीमा दिनहुँ पुग्ने गरेका ४० देखि ५० जना बालबालिकामा ज्वरो, रुघाखोकी र निमोनिया देखिएको आवासीय डाक्टर प्रकाश गौतमले जानकारी दिनुभयो ।

अस्पतालमा पुगेका ५० प्रतिशत बालबालिकामा जटिल निमोनिया देखिने गरेको उहाँले बताउनुभयो । ‘अस्पतालमा बाहिर मेडिकलको औषधि खुवाएर ठिक भएन् भनेर आउने धेरै बालबालिका ज्वरो, रुघाखोकी र निमोनियाबाट ग्रसित छन्’, डाक्टर गौतमले पोखरा न्यूजसँग भन्नुभयो, ‘ उनीहरूमध्ये ५० प्रतिशत भन्दा बढीलाई भर्ना गर्नुपर्ने र अक्सिजन चलाउनुपर्ने अवस्था छ ।’

पोखराका मणिपाल अस्पताल , फिस्टेल हस्पिटल , फेवा सिटी हस्पिटल, मेट्रो सिटी लगायतका अस्पतालमा यसरी नै ज्वरो, रुघाखोकी र निमोनियाबाट ग्रसित बालबालिका दिनहुँ पुग्ने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button