बार बहसमा नआएसम्म इजलास जाँदैनौँ: न्यायाधीश

पाेखरा न्यूज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आउनुभएका सर्वाेच्च अदालतका १९ जना न्यायाधीश नेपाल बार एसोसिएसन बेन्चमा आएर बहस नगरेसम्म इजलासमा नजाने बताउनुभएकाे छ ।

कार्यपालिकासँग राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोपमा लगाएर प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिनु भएकाे छ ।

सुरुमा इजलासमा नबसेका न्यायाधीशहरू पछिल्लो केही दिन बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्नुभएकाे थियाे । तर बिहीबार र शुक्रबार सर्वाेच्च परिसरमा कानुन व्यवसायीमाथि भएको प्रहरी हस्तक्षेपपछि उहाँहरू अब बार बेन्चमा आएर बहस नगरेसम्म इजलास नफर्कने र कुनै पनि मुद्दा नहेर्ने हुनुभएकाे हाे ।

‘शुक्रबार पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेनौँ’, एक न्यायाधीशले भन्नुभयाे, ‘अब हामी बार बहसका लागि बेन्चमा नआएसम्म हामीहरू इजलासमा जाँदैनौँ र कुनै पनि मुद्दा हेर्दैनौँ ।’

कानुन व्यवसायीमाथि भएको हातपात र बल प्रयोगप्रति न्यायाधीशहरूले दुःख व्यक्त गर्दै बारको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनु भएकाे छ । ‘हिजो र आज सर्वाेच्च परिसरमै कानुन व्यवसायी घाइते हुने गरी भएको प्रहरीको बल प्रयोगप्रति हामीलाई दुःख लागेको छ’, ती न्यायाधीश भन्नुहुन्छ, ‘बारको आन्दोलनप्रति हाम्रो ऐक्यबद्धता छ ।’ अहिले भइरहेको विवाद र समस्याको समाधान प्रधानन्यायाधीश जबराले दिनुपर्ने र यसका लागि उहाँले राजीनामा दिनुपर्ने ती न्यायाधीशको तर्क छ ।

बिहीबार सर्वाेच्च परिसरमा छ जना कानुन व्यवसायी घाइते हुने गरी प्रहरीले बल प्रयोग गरेपछि बारले शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी धर्ना दिएको थियो । तर जबराले दैनिक प्रयोग गर्ने नभएर अर्कै गेटबाट कार्यालय प्रवेश गर्नुभएकाे थियाे ।

कानुन व्यवसायीमाथि भएको हातपातको विरोध र प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म नेपाल बार एसोसिएसनले बहस पैरवीमा सहभागी नहुने बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button