पोखरा-काठमाण्डौ यात्रा दुई घण्टामा झार्छौं : अर्थमन्त्री शर्मा

पोखरा न्यूज । अर्थमन्त्री जनार्दन शर्माले दुई सय किलोमिटर लामो पोखरादेखि काठमाडौंसम्मको सडक यात्रा दुई घण्टामा झार्ने दाबी गर्नुभएको छ  । पोखरामा उद्योगी व्यवसायीहरूसँग कुरा गर्दै उहाँले  बाटोको यात्रा छोटो बनाए मात्रै आर्थिक विकासले तीव्रता पाउने बताउनुभएको हो  ।

‘पोखरा–काठमाडौंको सडक यात्रा २ घण्टामा झार्नको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको छु । बाटो छोटिए त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान दिन्छ,’ उहाँले भन्नुभयो  । शर्माले कोरोना भाइरसका कारण निजी क्षेत्र जटिल अवस्थामा पुगेको भन्दै पुनरुत्थानका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताउनुभयो  ।

‘पीडित व्यवसायीहरूको लागि घोषित पुनःकर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन गरिरहेका छौं । कसरी बढी लाभ दिन सकिन्छ भन्नेमा सरकार संवेदनशील छ,’ उहाँले थप्नुभयो, ‘साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया समेत शुरु भैसकेको छ । उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य हो ।’

उत्पादन गर्ने उद्योगहरूलाई राज्यले जुनसुकै सुविधा पनि दिन सक्ने उहाँको प्रतिबद्धता छ । ‘उद्योग खोल्न के सुविधा चाहिन्छ ? त्यो दिन सरकार तयार छ’, उहाँले भन्नुभयो , ‘भन्सार छुट चाहियो कि, विद्युत वा कर छुट के चाहिन्छ ? सरकारले त्यो तत्कालै व्यवस्था गर्छ ।’

नेपालमा उत्पादित विद्युतको खपत देशभित्रै गर्ने गरी उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई उहाँले  आग्रह गर्नुभएको छ  । अहिले पनि नेपालमा उत्पादन भएको ५ सय मेगावाट बिजुली प्रयोग विहीन भएको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अवरोध हटाउन र उडान रुटको टुंगो लगाउन आग्रह गर्नुभएको थियो  । यस्तै, व्यवसाय पुनरुत्थानका कार्यक्रमहरूलाई तीव्रता दिन समेत उहाँको आग्रह छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button