प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग गुजरातमै भेटवार्ता गर्ने

पाेखरा न्यूज । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जाने तय भइसकेको छ । त्यसक्रममा उहाँ २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ । उहाँले २६ पुसमा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने हुनुभएकाे छ । सम्मेलनमा सहभागी हुनकै लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई निम्तो दिनुभएकाे हाे ।

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले यही साता देउवाको भारत भ्रमणको मिति र कार्यक्रम एकैसाथ सार्वजनिक गर्ने तयारी गर्नुभएकाे छ । प्रधानमन्त्री देउवाका सबै भेटवार्ता गुजरातमै हुने तय भएको छ । भारतीय प्रधानमन्त्री मोदी गुजरातमै हुने भएकाले नयाँ दिल्लीमा यसपटक भेटवार्ता नहुने प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री २५ पुसमा नयाँ दिल्ली ट्रान्जिट भएर अपराह्न गुजरात पुग्नुहुनेछ । भारतीय समकक्षी मोदीले विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुख एवं प्रतिनिधिमण्डलका लागि आयोजना गर्ने स्वागत समारोहमा देउवा सहभागी हुनुहुनेछ । उहाँसहित आधा दर्जन सरकार–राष्ट्रप्रमुख गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले भ्रमणको दोस्रो दिन २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यही दिन उहाँले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय औपचारिक वार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री देउवा सानो आकारको प्रतिनिधिमण्डलसहित भारत जाने गरी तयारीमा लाग्नुभएकाे छ । देउवाले भारतसँग सीमा समस्या समाधान, विगतमा भएका सम्झौताहरूको कार्यान्वयन, कोभिड- १९ पछि आर्थिक पुनःस्थापनामा भारतको सहयोग तथा नेपालमा भारतीय लगानीको बढोत्तरी, ऊर्जा, डुबानलगायतका समस्याबारे छलफल गर्ने गरी एजेन्डा तयार पारिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button