कास्कीमा आठ करोड लागतमा हिरासत कक्षसहित प्रहरी भवन तयार

पोखरा न्यूज । जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा आवास गृह, भान्सा घर र हिरासत कक्षसहितका नयाँ भौतिक संरचना तयार पारिएको छ । कार्यालय परिसर भित्रको साढे १० रोपनी क्षेत्रफलको जग्गामा करिब आठ करोड लागतमा हिरासत भवन, प्रहरी ब्यारेक भवन, सिनियर प्रहरी अधिकृत आवास गृह, भान्सा घर लगायतका भौतिक संरचना निर्माण गरिएको हो ।

सात करोड छ लाख ११ हजार ८४२ रुपैयाँ ६७ पैसा लागतमा दुई तले हिरासत भवन, तीन तले ब्यारेक भवन र सिनियर प्रहरी अधिकृत आवास भवन तयार भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । डिएसपी तिवारीका अनुसार कार्यालय परिसरमा एक करोड १४ लाख ३० हजार ८१ पैसा लागतमा साढे दुई तले भान्सा घर समेत तयार पारिएको छ।

भान्सा घर २०७७ फागुनमा निर्माण सम्झौता भई काठमान्डौको आयन कन्स्ट्रक्सनले तयार पारेको हो । हिरासत भवन, प्रहरी ब्यारेक भवन, सिनियर प्रहरी अधिकृत आवास गृह लगायतका संरचना धनगढीको रोयल कन्स्ट्रक्सनले २०७६ माघ १० गते ठेक्का सम्झौता गरी दुई वर्षमा तयार पारेको डिएसपी तिवारीले पोखरा न्यूजलाई बताउनुभयो । हिरासत भवन एक सय जना थुनुवा राख्न मिल्ने गरी तयार पारिएको छ ।

नव निर्मित भौतिक संरचनाका कारण प्रहरी कर्मचारीलाई उपयुक्त कार्य वातावरण तयार भएको र यसले कास्की प्रहरीको कार्यसम्पादन स्तरमा सकारात्मक प्रभाव पार्ने कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले बताउनुभयो । संरचना तयार भएसँगै कार्यालय परिसरमा वर्षौदेखि देखिँदै आएको पानीको निकास र डुबान सम्बन्धी समस्या समेत निराकरण भएको छ । स्थानीय रेसमराज पन्थीले आफ्नो घर कै मुनिबाट पानीको निकास दिएपछि कार्यालय परिसरमा वर्षौदेखि वर्षातको समयमा हुँदै आएको डुबान समस्याको स्थायी समाधान भएको एसपी थापाले बताउनुभयो ।

कार्यालय परिसर भित्र बास्केटबल, भलिबल लगायतका खेलकुद गतिविधि समेट्ने गरेर थप संरचना तयार हुने र एक पुस्तकालय समेत स्थापना गरिने एसपी थापाको भनाई छ ।

नव निर्मित संरचनाको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

नव निर्मित संरचनाको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट शुक्रबार समुद्घाटन भएको हो । कोरोना संक्रमणको जोखिमका कारण सीमित व्यक्तिलाई मात्र निमन्त्रणा गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, पोखरा महानगरपालिका प्रमुख, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button