पल शाहको बयान सुरू

तनहुँ । नाबालिग गायिका बलात्कार अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाह र उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिन सुरू गरेको छ । प्रहरी हिरासतमा रहेका नायक शाहविरुद्ध आजै सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको थियोे ।

३ बजेदेखि बयान लिन थालेको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णुप्रसाद तिम्लिसिनाले जानकारी दिनुभयाे । ‘सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ता गरेकाे थियो । अभियुक्तहरूको बयान लिने काम भइरहेकाे छ,’ उहाँले भन्नुभयाे । दुवै पक्षका कानुन व्यवसायी बयानमा उपस्थित हुनुहुन्छ ।

जिल्ला न्यायाधीशको रोहबरमा पल र उनका म्यानेजर जोशीले बयान दिइरहेका छन् । उनका अनुसार बयान सकिएपछि जाहेरवाला र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच बहस चल्नेछ । दुई पक्षको बहस सुनेर मिसिलमा सग्लन प्रमाणको आधारमा थुनछेक आदेश हुने उहाँले बताउनु भयाे । ‘प्रमाण पुगेको खण्डमा पुर्पक्षका लागि थुनामा पठाइन्छ । प्रमाण पुगेन भने धरौटीमा रिहा हुन्छ,’ उनाँले जानकारी दिनुभयाे ।

१२ देखि १४ वर्षको कैद सजाय माग गर्दैै जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएकाे जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताउनु भयाे। जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा मुद्दा दर्ता गराएको शर्माले उल्लेख गर्नुभयाे । ‘पीडित बालिका १६ बर्षभन्दा कम उमेर भएकाले १२ देखि १४ बर्षसम्मको कैद सजायको र मनासिब क्षतिपुर्ति माग राख्दै मुद्दा दर्ता भएको हो,’ उहाँले स्पष्ट पार्नुभयाे ।

जिल्ला न्यायाधिवक्ता शर्माका अनुसार पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि आधा सजायको माग राख्दै मुद्दा दर्ता गरिएको छ । जोशी मतियार भएकाले शाहलाई हुने सजायको आधा सजाय मागसहित मुद्दा दर्ता गरेको उहाँले बताउनु भयाे ।

बाल गायिकालाई बलात्कार गरेको जाहेरी तनहुँ प्रहरीमा परेपछि उनी अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । ११ फागुनमा नाबालिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनुभएकाे थियाे । सुरुमा बालिकाको परिवार कास्की प्रहरीमा उजुरी दिन पुगेको थियो । तर, अन्तिम पटक घटना तनहुँमा घटना भएको भन्दै कास्की प्रहरीले बालिकाको परिवारलाई तनहुँ पठायो । पलविरुद्ध दिएको जाहेरीमा अन्तिम पटक तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा बलातकार भएको उल्लेख छ ।

जाहेरी दिएपछि १५ फागुनमा पलले जिल्ला प्रहरी कार्यालय तनहुँमा अत्मासमर्पण गरेका थिए । सोही दिन उनलाई जिल्ला अदालत तनहुँले अनुसन्धानका लागि सात दिन म्याद दिएको थियो । त्यसपछि १२ दिनको म्याद थपिएकोमा गत विहीबार सकिएको थियो । विहीबार फागु पूर्णिमाको बिदा परेकाले शुक्रबार अदालतले पाँच दिनको म्याद थपेको थियो ।

उनका म्यानेजर जोशीमाथि पनि २७ फागुनमा दमौलीबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button