ब्याजदर घटाउन आन्दोलनमा उत्रने पोखराका व्यवसायीको घोषणा

पोखराका उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपले बढाएको ब्याजदर घटाउने मागसहित आन्दोलन गर्ने भएका छन् ।

पोखरा उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा सहभागी उद्योगी -व्यवसायीहरुले आन्दोलनको लागि संघका अध्यक्ष पवनकुमार प्रजापतिको संयोजकत्वमा १०१ सदस्यीय संघर्ष समिति गठनसमेत गरेका छन् । संघर्ष समितिमा पोखरासहित लेखनाथ उद्योग वाणिज्य संघ, विभिन्न व्यावसायिक संघ-संस्था तथा वस्तुगत संघहरु रहेका छन् ।

‘बैठकले बैंकको ब्याजदर घटाउन सशक्त आन्दोलन गर्ने म्याण्डेट दिएको छ’,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने,‘संघर्षका कार्यक्रमहरु वारपार गर्ने खालका हुन्छन्, हामी तिहारलगत्तै संघर्षमा उत्रन्छौँ ।’ उनले आन्दोलनका स्वरुपबारे छिट्टै जानकारी दिने बताए ।

यसअघि संघले अर्थमन्त्री, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसियसनलाई ज्ञापनपत्रमार्फत् ब्याजदर घटाउन आग्रह गरिए पनि सुनुवाइ नभएको उनको भनाइ छ । उनका अनुसार बैंकले कुसमयमा बढाएको ब्याजदर,कर्जाको साँवा र ब्याजको लागि पटक–पटक गरिने ताकेता र विभिन्न बहानामा लिइने शुल्कहरु नघटेसम्म आन्दोलन जारी रहने छ ।

पोउवा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बैंक तथा वित्तीय संस्थाहरुको दादागिरीले आजित भएर आन्दोलनको कार्यक्रम घोषणा गरिएको सुनाए । ‘उद्योगी-व्यवसायीहरुले अर्काको लागि आन्दोलन गरिदिएका छन्, व्यवसाय बन्द गरेर सघाएका छन्’,उनले भने,‘अहिले आफैमाथि परेको समस्याले हामीलाई सडकमा ल्याउँदैछ, हामी आम नागरिकबाट पनि यो संघर्षमा ऐक्यवद्दताको अपेक्षा गर्दछौँ ।’

संघका महासचिव बलराम आचार्यले निजी क्षेत्रको मागलाई वेवास्ता नगर्न नेपाल राष्ट्र बैंक र सरकारसँग माग गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button