बेँसीसहर-चामे सडक स्तरोन्नति सुस्त गतिमा

बेँसीसहर–चामे सडकको स्तरोन्नति कार्य यहाँ सुस्त गतिमा भइरहेको छ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र सम्पन्न गर्नुपर्ने आगामी असार मसान्तभित्र भएपनि हालसम्म ३० प्रतिशत मात्र निर्माण भएको छ ।

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवम् इन्जिनियर पुरुषोत्तम अधिकारीले भन्नुभयो, “दसैँ तिहार र चुनावका कारण कामले तीव्रता लिन सकेको छैन ।” वर्षायाममा वर्षाले यस सडकको विभिन्न ठाउँमा पहिराले खस्दासमेत काममा अवरोध आउँदा समय लागिरहेको उहाँको भनाइ छ ।

हिमाली जिल्ला मनाङ र लमजुङ जोड्ने एकमात्र यस सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा गर्ने, कटिङ गर्ने कार्य सम्पन्न भएको छ । अब नाली बनाउने र केही संचरना निर्माण गर्नेलगायतका काम बाँकी रहेको र यतिबेला ती काम भइरहेको इन्जिनियर अधिकारीले बताउनुभयो । यतिबेलासम्म आधाभन्दा बढी निर्माण कार्य हुनुपर्ने भए पनि अधिकांश काम अझै बाँकी रहेको बताइएको छ ।

काम सुस्त गतिमा हुँदा निर्धारित समयमा सम्पन्न नहुने होकी भन्ने आशंका स्थानीयले गर्न थालेका छन् । स्थानीय श्रमदान र सरकारी निकायबाट सहयोग मागेर लमजुङवासीले २०५१ सालमा यसखण्डअन्तर्गत बेँसीसहरदेखि खुदीसम्म मोटरबाटोको ट्रयाक खोलेको थियो । उक्त खण्डमा स्तरोन्नतिको काम अघि बढ्दा स्थानीय उत्साहित भए पनि कामको गतिले भने निरास बनाएको स्थानीय कृष्णबहादुर आलेले बताउनुभयो ।

सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फी नाली निर्माण गरिने छ । ट्रयाक खोलेको करिब २७ वर्षमा बेँसीसहर–चामे सडक कालोपत्रको काम अघि बढेको छ ।

पहिलो चरणको उक्त कार्य सम्पन्न भएपश्चात् दोस्रो चरणमा अस्फाल्ट प्रविधिका कालोपत्र गरिने भएको छ । त्यस्तै, तेस्रो चरणमा रोड फर्निचर (पेन्टिङ) गर्ने, क्र्यास बेरियर राख्ने, किलोमिटर पोस्ट राख्ने कार्य हुने उहाँको भनाइ छ । पहिलो चरणको निर्माण कार्य गत असार महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ बढे पनि सम्पन्न भने हालसम्म हुन सकेको छैन ।

आशिष अनेस्ट चितवनले २०८० असार मसान्तसम्म कालोपत्र गर्ने गरी २०७८ असार मसान्तमा सम्झौता गरेर काम अघि बढाइएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार रु कूल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएको उक्त सडक रु २५ करोड ३२ लाखमा कालोपत्र गर्ने सम्झौता छ । विसं २०७८ असारमा सम्झौता गरे पनि वर्षाका कारण निर्माण भने २०७८ असोजदेखि मात्र सुरु भएको थियो ।

यस सडकको बेँसीसहरदेखि खुदीसम्मअर्थात् करिब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका-६ स्थित तीन सय मिटर लामो खरखरभिरको लागि सो रकमबाहेक टेण्डर आह्वान गरेर रु २० करोड स्टेमेन्ट गरेकामा करिब रु १६ करोड र सोही नजिकै एक सय २० मिटरको करिब रु चार करोडमा पुल तथा बाटो निर्माण हुने उक्त कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार रु १६ करोड लागत्तको काम खरीढुङ्गा गोल्मेस्वर जेभीले र रु चार करोडको काम सानो खरीढुङ्गा निर्माण सेवाले गर्ने भएको छ । बेँसीसहरमा रहेको नेपाली सेनाले २०६९ सालमा पूरा गर्दै डिभिजन सडक कार्यालय दमौली तनहुँलाई यस सडक हस्तान्तरण गरेको थियो ।

अघिल्लो वर्षदेखि उक्त डिभिजन सडक कार्यालय मार्फत डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले यस सडकको काम हेर्दै आएको छ । पैसठ्ठी किलोमिटर रहेको यस सडक लमजुङतर्फ ३५ किलोमिटर र मनाङतर्फ ३० किलोमिटर पर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button