पोखरा विमानस्थलको क्यालिब्रेसन फ्लाइट रिपोर्ट पोजिटिभ, उडान सञ्चालनको बाटो खुल्यो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडानको रिपोर्ट सकारात्मक आएसँगै व्यवसायिक उडानको बाटो खुला भएको छ ।

विमानस्थलमा मङ्सिरको ५-११ गतेसम्म गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन शुक्रबार आएको थियो । यससँगै अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी शुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिए । उनले भने,’क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन आइसकेको छ, प्रतिवेदनमा सबै कुरा राम्रो छ । प्रतिवेदनको ‘इन्फरमेशन’ छिट्टै प्रकाशन गरिनेछ ।’

प्रवक्ता निरौलाका अनुसार यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि ‘एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन’ (एआइटी) मा प्रकाशन गरिनेछ । प्रतिवेदनका आधारमा अन्तर्राष्ट्रिय विमान कम्पनीमा विमानस्थल सम्पूर्ण हिसाबले उडानका लागि तयार भएको जानकारी लिने र पोखरा गन्तव्यमा उडान गर्नसक्ने जनाइएको छ ।

यान्त्रिक उडान विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षणका लागि गरिएको थियो । त्यसक्रममा पोखरा विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरण परीक्षण गरिएको क्यानले जनाएको छ । क्यानले यही पुस १७ देखि पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा गरिसकेको छ ।

पोखरा विमानस्थल सञ्चालनयोग्य भएसँगै मुलुकमा अब अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन पुगेको छ । यस अघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हुँदै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button