युएईविरुद्ध नेपालको संघर्षपूर्ण जीत, दीपेन्द्र र सन्दीपको उत्कृष्ट साझेदारी

दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले सातौं विकेटका लागि उत्कृष्ट ७९ रनको साझेदारी गरेपछि नेपालले युएईलाई तीन विकेटले पराजित गरेको छ ।

विश्वकप छनोटको सातौं स्थानको प्लेअफका लागि आज भएको खेलमा युएईले नेपाललाई एक सय ८२ रनको लक्ष्य दिएको थियो । जिम्बावेको हरारेस्थित टाकाशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको युएईको टोली ४६.५ ओभरमा एक सय ८१ रनमा सीमित भयो । युएईका लागि भिर्त्या अर्विन्दले सर्वाधिक ४४ रन बनाउँदा रोहन मुस्ताफाले ३५ र बासिल हमिदले २९ रन बनाए । नेपालका लागि करन केसी र सन्दीप लामिछानेले समान ३-३ विकेट लिए ।

एक सय ८३ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई मुस्किल पर्यो । चार खेलाडी एकोहोरो अङ्कमा पवेलियन फर्किँदा नेपाल ६३-६ को कठिन परिस्थितिमा पुगेको थियो । तर दीपेन्द्रले छैटौं विकेटका लागि गुल्सन झासँग ४३ र सन्दीपसँग ७९ रनको साझेदारी गरेपछि नेपालले ४३.२ ओभरमा लक्ष्य हासिल गर्न सफल भयो । दीपेन्द्रले व्यक्तिगत ७९ रन बनाउँदा सन्दीपले २३ रन बनाए । कुशल भुर्तेलले पनि ३५ रनको योगदान दिए ।

विश्वकप छनोटको सुपरसिक्समा पुग्न असफल चार टोलीबीच प्लेअफ हुँदैछ । आयरल्यान्ड, अमेरिका, युएई र नेपाल छनोटको सुपरसिक्समा पुग्न असफल भएका थिए जसमध्ये अब सातौँ स्थानको पहिलो प्लेअफमा नेपालले आयरल्यान्डको सामना गर्नेछ । यस्तै युएई र अमेरिका नवौं स्थानका लागि दोस्रो प्लेअफ खेल्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button