
मकवानपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।
आज बिहान २ बजे मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा विपरीत दिशाबाट आइरहेका दुई ट्रक ठोक्किएका थिए । हेटौंडाबाट चितवन जाँदै गरेको ना ६ ख ६६६७ र हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ६३१ एकापसमा ठक्कर खाँदा तीन जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा चितवन जाँदै गरेको ट्रकका चालक चितवन राप्ती नगरपालिका ८ घर भएका २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका-२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र अर्को ट्रकका सहचालक मकवानपुर मनहरी गाउँपालिका-३ का २० वर्षीय अमृत प्रजा रहेका छन् ।
यसैगरी दुर्घटनामा थप दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा चितवनको राप्ती-३ बस्ने ३५ वर्षीय विवेक तमाङ र मकवानपुर मनहरी-३ बस्ने ३२ वर्षीय अर्जुनकुमार प्रजा रहेका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
ट्रकहरुमा ठक्कर खाएपछि ठूलो आगलागी भएको थियो जसबाट ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । ट्रकहरुमा लागेको आगो निभाउन हेटौंडाबाट दुई वटा दमकल आएका थिए ।