वेस्टइन्डिजबिरुद्ध नेपालको रोमाञ्चक जीत

पोखरा । पहिलो टीट्वान्टी खेलमा वेस्टइन्डिज एबिरुद्धको खेलमा नेपाल चार विकेटले विजयी भएको छ ।

कप्तान रोहित पौडेलको शतकमा नेपाल विजयी भएको हो । वेस्टइन्डिजले दिएको दुई सय पाँच रनको लक्ष्य नेपालले १९ दशमलव४ ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो ।

जसमा कप्तान पौडेल ५४ बलमा १० चौका र छ छक्कासहित एक सय १२ रनको शतकीय इनिङ खेले ।

नेपाललाई आठ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए ।

२७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक ४७ बलमा हानेका थिए । उनको यो टीट्वान्टी करिअरको पहिलो शतक थियो ।

नेपाललाई अन्तिम छ बलमा जित्नलाई नौ रन चाहिँएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश र गुलशनलाई एक, एक रन दिएका थिए ।

तेस्रो बलमा गुलशनले लङअफमा चौका हानेपछि तीन बलमा तीन रन चाहिँएको थियो । अर्को बलमा चौका हान्दै खेल जिताए । गुलशन नौ र प्रतिश पाँच रनमा नट आउट रहे ।

ओपनर अनिल शाह पाँच, कुशल मल्ल र कुशल भुर्तेल १६/१६ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा दुई चौका र एक छक्कासहित २४ र विवेक यादव सात रनमा आउट भए । ओबेद म्याककोयले चार ओभरमा ३४ रन खर्चेर दुई विकेट लिए । म्याथ्यु फर्ड दुई र किमो पलले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ए ले २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय चार रन बनाएको थियो ।

वेस्टइन्डिज ए का कप्तान रोश्टन चेसले ४६ बलमा नौ चौका र दुई छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेले ।

ओपनर एलिक एथानाजे २५ बलमा पाँच चौका र तीन छक्कासहित ४७, जोनसन चाल्र्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए ।

केसी कार्टी २६ बला दुई चौका र तीन छक्कासहित ३८ रनमा आउट भए । कदिम एलियन १५ बला दुई चौकासहित १४ रनमा नट आउट रहे ।

नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले एक, एक विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button