पोखरा महानगरपालिकाले थाल्यो फिर्के खोलाको सिमाङ्कनको काम

पोखरा महानगरपालिकाले फिर्के खोलाको सिमाङ्कन सुरु गरेको छ । मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहावमा अवरोध सृजना हुने गरी विभिन्न स्थानमा अतिक्रमण भइरहेको भन्ने गुनासाहरूकोबीच महानगरपालिका यसको सिमाङ्कन सुरु गरेको हो । आज बिहीबार सर्वेक्षक र अमिनहरुको टोलीले खोला क्षेत्रको सर्वेक्षण गर्ने कार्ययोजना रहेको छ ।

पहिलो चरणमा खोलाको भाग एकिन गर्ने गरी खोलाको सिमाङ्कन सुरु गरिएको प्रमुख धनराज आचार्यले बताए । “दिगो पर्यटन विकास परियोजना अन्तरगत फिर्के खोलाको संरक्षण, सम्बर्द्धन र विशेष सौन्दर्यीकरणको कार्यक्रम सुरु हुदैछ, प्रमुख आचार्यले भने, यसलाई फिर्के कोरिडोरको रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माणका लागि दातृ निकायको सहयोगमा विशेष परियोजना लागु गर्ने तयारीमा हामी छौँ ।”

पहिलो चरणमा प्राविधिक सर्वेक्षण र नाप जाँच गरी खोलाको प्राकृतिक सिमाना एकिन गरिने उनले बताए । आचार्यका अनुसार दोस्रो चरणमा स्थानीय सरकारले तोकेको मापदण्ड लागु गर्ने कार्य हुनेछ । जस अन्तरगत फिर्केको अतिक्रमण हटाइने छ भने, परियोजना अनुसारको पूर्वाधार निर्माण गरिनेछ । फिर्के खोला मिचेर निर्माण गरिएका व्यक्तिगत, सरकारी र संस्थागत जे सुकै भएपछि नियमानुसार कारबाही अगाडी बढाइनेछ, उनले भने, यसमा कुनै प्रकारको मोलाहिजा हुनेछैन । महानगरपालिका फिर्के खोलाको संरक्षण, विकास र सौन्दर्यीकरणका लागि प्रतिबद्ध छ ।”

पहिलो दिन करिब १ कि.मी खोलाको भाग मध्ये २५ स्थानमा पिलर गाडिएको छ भने, १५ स्थानमा रेड कलर गरिएको छ । अन्तिम विन्दुमा खोला ४३ देखी ४५ मिटर सम्म फैलिएको पाइएको सर्वेक्षणमा सहभागी सर्वेक्षक वासुदेव पौडेलले बताए । उनका अनुसार आज बिहीबार ४ टोली बनाएर सर्वेक्षणको काम सुरु गरिनेछ । टोलीमा सर्वेक्षक र अमिनहरू सामेल हुनेछन् ।

पोखरा महानगरपालिकाको उक्त कदमको नागरिक समाज तथा संरक्षणकर्मीहरूले स्वागत गरेका छन् । प्राकृतिक सम्पदाको स्वतन्त्र बहावमा अवरोध सृजना हुने गरी निर्माण गरिएका कुनै पनि संरचना हटाउने कार्यमा समेत आफूहरूको सहयोग र समर्थन रहने उनीहरूले प्रतिबद्धता जाहेर गरेका छन् । यसअघि महानगरपालिकाले फिर्के खोलाको झाडी हटाउने काम गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button