चाउचाउको कार्टुनमा लुकाएर वैदेशिक मुद्रा दुबई लैजान खोज्ने चार पक्राउ

चाउचाउको कार्टुनमा लुकाएर नेपाली विनिमयमा एक करोड भन्दा बढी हुन आउने वैदेशिक मुद्रा दुबई लैजाँदै गर्दा चारजना पक्राउ परेका छन् ।

बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-९ तुल्सीपुर घर भएका २४ वर्षीय अनिस थापालाई प्रहरी पक्राउ गरेको हो । हिमालयन एअरलाइन्सको उडानमार्फत दुबई उड्न लागेका थापालाई अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजमा चाउचाउको बीचमा लुकाएर लैजान लागेको विदेशी मुद्रा फेला परेको हो ।

उनको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान गर्ने क्रममा प्रहरीले सन्तोष पन्थी, दिपेश राना र सूर्यमणि भण्डारीलाई पनि पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हिजै पक्राउ परेको एक क्विन्टल अवैध सुनकाण्डसँग यो घटना मुछिएको हुनसक्ने शंका गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button