छोरा नातिका लागि पोखरा बाँकी राखौँ, एक वर्ष ‘बुल्डोजर होली डे ‘ घोषणा गरौँ

विश्व सिग्देल । संसारका कुनै पनि सभ्य देशमा बुल्डोजर प्रयोग गरेर नदीनाला पहाड खोतल्न पाइँदैन । नगरी नहुने भए बुल्डोजरको प्रयोग कानुनको सीमा भित्र रहेर मेघा परियोजनाहरूमा प्रकृतिका संरचनाहरूलाई छेडखान नगरी कडा निगरानीका बिच अनुमति दिइन्छ ।

भारतका कुनै पनि सहरमा पहाड खोतल्न बुल्डोजर त के गमलाको फूल गोड्ने चुच्चे कुटो समेत प्रयोग गर्न पाइँदैन । नयाँ दिल्ली ,मुम्बई , दार्जिलिङ, सिमला, माउन्टआबु, पचमढी सिक्किम तिर पुगेर हेरे हुन्छ ,युरोप जानु पर्दैन ।

बुल्डोजर नभएर विकास नहुने हैन । मिश्रका पिरामिड ,अमेरिकाको गोल्डेन गेट , एफिल टावर, चीनको ग्रेटवाल, भारतको ताजमहल, यस्ता हजारन कालजयी संरचनाहरूको  निर्माण गर्दा बुल्डोजरले जमिन खारेका ,सम्म्याएका वा जग खनेका होइनन् । नत १०० वर्ष अगाडी अमेरिकाले चन्द्रमाको दुरी भन्दा दुई/तिन गुणा लामा र फराकिला सडक र रेल प्रणाली निर्माण गर्दा नै डोजर प्रयोग गरिएको थियो ।

माफिया राजनीतिकर्मी र आपराधिक चरित्रका मानिसहरूको हातमा बुल्डोजरको चाबी हात हातमा पुग्दा पृथ्वीका सबै भन्दा कान्छा हाम्रा हिमाल मध्य महाभारत शृङ्खला, चुरे तथा नदीनाला, खोल्सा-खोल्सीहरू ध्वस्त भइसके ।

पोखरा महाविनाश र प्रलयको सँघारमा पुगिसकेको छ । अहिले होस पुर्‍याएनौ भने भोली कसैले बचाउन सक्दैनन् । अब अति भयो । कम से कम बुल्डोजर, एक्साभेटर आदि राक्षसहरूलाई एक वर्ष विश्राम दिऊँ , ’बुल्डोजर होली डे’ पोखरालाई बनाऊँ । सके गण्डकी प्रदेश नै बनाऊँ ।

फेवाको पानी रातभरको मुसलधारे पानी बर्सेर पहाडबाट भल बगेर भरिदा पनि भोली बिहान कञ्चन भइसक्थ्यो ।  अहिले वर्षाद पछिको एक महिनासम्म पनि फेवाको पानी धमिलै देखिन्छ ।  फेवा तथा अन्य ताल तलैयाहरूका सिमसार कोदालोले खनेर डोकोमा बोकेर पुरिएका हैनन् । पहाडमा सडकको नाममा डोजरले खोतलेका पहाडका छातीबाट आउने माटाले ताल धमिलो मात्र हैन सतह उकासिएर गहिराइ दुई तिन मिटरमा झरी सकेको छ र कुनै दिन फुटबल मैदान बन्दै छ।

सेती नदीको सतह मात्र हैन दायाँ बायाँका किनार बस्ती बजारहरूको पिँधै उधिनेर बुल्डोजर चलाउँदा पृथ्वी राजमार्गसमेत कोत्रे विजयपुर खण्डको खेत बस्ती खतरामामा छ । कतै कतै राजमार्गको ४/५ सम्म पेलिँदै आइसक्यो । गगनगौंडा आसपास एक बकेट बालुवा डोजरले तान्दा हेम्जासम्मको नदी प्रवाह र जमिनको बनावटमा क्षति हुन सक्छ भन्ने सामान्य विज्ञान पनि हामीले हेक्का राखेनौँ भने आजको दश वर्ष भित्र पोखरा भन्ने नामै रहँदैन ।

युरोप अमेरिका त के नजिकै भारतमा समेत बनिरहेका बहुमञ्जिल घरहरू समेतमा प्रकृतिजन्य पदार्थहरूको प्रयोग हुँदैन । स-साना आवासीय घरहरूमासमेत ढुङ्गा, बालुवा, कङ्क्रिट प्रयोग नगरी ती भन्दा टिकाउ र सुविधा सम्पन्न अत्याधुनिक भूकम्प प्रतिरोधक घरहरू निर्माण भइरहेका छन् । ती प्रविधि र निर्माण सामाग्रीहरू हाम्रो पहुँचमा आइसकेका छन । हाम्रै देशमा उत्पादन हुन थालिसकेका छन् ।

अब हामी त्यता जानु पर्छ । महानगरले पनि विभिन्न तरिकाले नागरिकहरूलाई त्यस्ता निर्माणहरू गर्न सहजीकरण गर्नु पर्छ । सकिन्छ गण्डकी प्रदेश पुरै नसके पोखरा महानगर सम्मलाई एक वर्षको निमित्त ‘बुल्डोजर होली डे ‘ बनाऊँ । त्यसपछि हुन आउने केही असहजता अप्ठेराहरू भए छलफल गरेर के गर्न सकिन्छ गरौँ ।

राजनीतिक विश्लेषक विश्व सिग्देलले राजनीतिसँगै समसामयिक विषयवस्तुमा लेख्ने गर्नुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button