लेखनाथ महोत्सवको तयारी तीव्र, ९ करोडको कारोबार गर्ने लक्ष्य

पोखरा । १९ औँ संस्करणको लेखनाथ महोत्सव पुस ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवको तयारी तीव्र बनाइएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।

आर्थिक मन्दीबाट थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन, पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन महोत्सव महत्वपूर्ण हुने महोत्सवका प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले बताए ।

यस्तै, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको उनले बताए ।

महोत्सवमा कवि लेखनाथ पौडेलको सम्झनामा साहित्यिक कार्यक्रम, रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, साँस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, रीतिरिवाज तथा संस्कृति झल्कने नृत्य प्रदर्शनी, झाँकीर्याली तथा भेषभूषा प्रदर्शनी, ख्यातिप्राप्त हास्यव्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्र्सट गरिने बताइन्छ ।

महोत्सव स्थलमा ३३४ स्टल राखिनेछ भने दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने र नौ करोडको आर्थिक कारोबार अपेक्षा राखिएको छ । महोत्सवबाट करिब ९० लाख आम्दानी गर्ने, करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने लक्ष्य राखिएको छ ।

महोत्सवबाट हुने आम्दानीले प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, बेगनासतालमा बराह मन्दिर संरक्षण, कोसेली घर निर्माण, बेगनासतालमा चेम्बरपार्क निर्माण गरिने संघले जनाएको छ ।

महोत्सवका सह–संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाडपर्वको रुपमा लिंदै आएको दावी गरे । उत्पादक र उपभोक्तालाई एकै ठाउँमा भेला गरी आर्थिक चलायमान गराउन महोत्सवले महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

महोत्सव सञ्चालनका लागि नौ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय सल्लाहकार समिति र ४२ सदस्यीय कार्यसम्पादन समिति एवं उपसमिति संयोजक गठन गरिएको छ ।

महोत्सवका मूल संयोजक विनोद श्रेष्ठका अनुसार २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट महोत्सव सुरु भएको थियो । महोत्सवलाई समयानुकूल परिमार्जन गर्दै २०६१ सालदेखि लेखनाथ महोत्सव आयोजना हुँदै आएको छ ।

पत्रकार सम्मेलनका अवसरमा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सीना पँगेनी र नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले बोलेका थिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिइन् भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button