पोखरास्थित केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमको प्रथम वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ बैदामस्थित केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमको प्रथम वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

समापन कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका कुल सचिव प्राध्यापक माधव अधिकारीले आँफैलाई चिन्ने शिक्षा संस्कृत भएको बताए । उनले गुरुकुल शिक्षाको मार्ग उज्ज्वल रहेको दाबी गर्दै संस्कृत शिक्षा श्रुति परम्पराबाट आएको स्पष्ट पारे । संस्कृत शिक्षाले कोरा ज्ञानलाई निरुत्साहित गर्ने उनको भनाइ छ ।

‘संस्कृतका विद्यार्थी अधिकांश स्वरोजगार बनेका छन्’, उनले भने, ‘भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा रणनीतिक योजना निर्माण गरी विद्याश्रमलाई महाविद्यालय बनाउन लाग्नुपर्छ ।’

वाल्मीकि विद्यापीठका सहप्राध्यापक रामप्रसाद पौडेलले नेपाल संस्कृत विश्वविद्यालयसँग जोडिन विद्याश्रमलाई सुझाव दिए । उनले विद्याश्रमलाई विद्यापीठकारुपमा विकास गर्नुपर्नेमा जोडसमेत दिए ।

कार्यक्रममा विद्याश्रमका पूर्व उपाध्यक्ष विश्वप्रकाश लामिछाने र महानगर शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारीले ठाउँठाउँमा गुरुकुल स्थापना भइरहेको भन्दै गुरुकुल शिक्षाको महत्वमाथि प्रकाश पारे ।

पीठाधीश स्वामी चिद्घन चैतन्यले विद्याश्रमलाई आदर्श शैक्षिक संस्थाकारुपमा विकास गर्न पोखरेलीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले अब वार्षिकरुपमा उत्सव मनाउने स्पष्ट पारे ।

विद्याश्रमका प्रधानाचार्य गणेश पौडेलले विद्याश्रमबाट शास्त्री, आचार्यसम्मको पठनपाठन गराउन हाल सबै पक्षमा अपुगता रहेको बताए ।

उनले शिक्षक व्यवस्थापनमा ध्यान दिन महानगर शिक्षा महाशाखाको ध्यानाकर्षण गराए । औषध सिकाइ उपलब्धि हासिल गर्ने योजनाका साथ हाल विद्याश्रम अगाडि बढिरहेको उनको भनाइ छ ।

पीठाधीश स्वामी चिद्घनको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दयानन्द पोखरेलका साथै कक्षा ६ का विद्यार्थीले स्वागत र विद्यार्थी अर्जुन खतिवडाले कार्यक्रम सञ्चालन गरेका थिए ।

सो अवसरमा विद्याश्रमका सहकोषाध्यक्ष तुमला श्रेष्ठले स्व. पति हुतराजको स्मृतिमा ८ लाख ११ हजार १ सय ११ को अक्षयकोष स्थापना गरेकी छन् ।

संस्थाका वरिष्ठ उपाध्यक्ष दयानन्द पोखरेल परिवारबाट अक्षयकोष तथा मुठीदानका लागि १ लाख ११ हजार ३ सय ९५, कोषाध्यक्ष रामप्रसाद बस्ताकोटीबाट १ लाख १ हजारको अक्षयकोष तथा ११ हजार १ सय ११ मुठीदानका लागि सहयोग उपलब्ध भयो ।

मुठीदानका लागि तेजबहादुर भट्टराईबाट २५ हजार ५ सय ५५ तथा अनिता खनालबाट ११ हजार ५ सय ५५ पनि प्राप्त भयो ।

कार्यक्रममा विभिन्न सहयोगी संघसंस्था, व्यक्ति, शिक्षकलाई सम्मान, शैक्षिक एवं विभिन्न अतिरिक्त क्रियाकलापतर्फ पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीलाई २ वटा स्मृति पदकसमेत प्रदान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button