मालढुङ्गा प्रहरी चौकी जीर्ण र असुरक्षित

ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुङ्गाहरुले प्लास्टिक अठ्याइएको छ । यो दृश्य मालढुङ्गा प्रहरी चौकीको हो । बागलुङ जिल्ला प्रवेशद्वार छेउमै रहेको यो प्रहरी चौकी निकै साँघुरो र जीर्ण छ । पानी पर्दा चहिने र हावाहुरी चल्दा छानो नै उडाउने समस्याले यहाँ बस्ने प्रहरी आजित बनेका छन् ।

जिल्लाको मुख्य नाकाका रुपमा रहेको मालढुङ्गा सुरक्षाको हिसाबले निकै संवेदनशील क्षेत्र हो । संवेदनशील क्षेत्रमै प्रहरी चौकीको अवस्था निकै दयनीय छ । यहाँ बस्ने सुरक्षाकर्मी आफैँ असुरक्षित छन् । मालढुङ्गा नाकाबाट दैनिक सयौँ सवारी साधान र हजारौँ यात्रु ओहोरदोहोर गर्दछन् ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने मालढुङ्गा बागलुङ मात्रै नभई म्याग्दी, मुस्ताङसहित पश्चिम नेपालकै प्रवेशद्वार हो । यी प्रवेशद्वारबाट रुकुम, जाजरकोट हुँदै पश्चिम नेपालका विभिन्न जिल्लामा सवारी साधन गुड्छन् ।

आपराधिक गतिविधि गर्नेदेखि सबै थरीका मानिस यात्रा गर्ने मुख्य नाका भए पनि प्रहरी चौकीको अवस्था जीर्ण र असुरक्षित छ ।

बस्ने, खाना खाने ठाउँ पर्याप्त नहुँदा यहाँ बस्ने सुरक्षाकर्मीले सास्ती खेप्नु परेको बताउँछन् । विसं २०६३ पुसमा स्थापना भएको उक्त प्रहरी चौकीको आफ्नै भवन र जग्गा पनि छैन । हाल प्रहरी चौकी रहेको जग्गा बागलुङ भगवती गुठीको हो ।

जिल्लाभर २८ स्थानमा प्रहरी चौकी रहेका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । तीमध्ये १३ चौकीको आफ्नै जग्गा र भवन छ भने आठवटाको जग्गा भए पनि भवन निर्माण हुन सकेको छैन ।

सात चौकीको जग्गा र भवन केही नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । उनका अनुसार केही चौकीको आफ्नै भवन भए पनि कच्ची र पुराना छन् भने केही भाडाका घरबाट सञ्चालित छन् ।

नागरिकको सुरक्षामा खटिने प्रहरीनै असुरक्षित घरमा बस्दै आएका छन् । जीर्ण भवनमा बस्दा कति बेला के घटना हुने हो भन्ने जोखिम रहेको मालढुङ्गा प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले बताए ।

उनले साँघुरो घरमा बसेर काम गर्दा धेरै समस्या पर्ने गरेको सुनाए । ‘ठाउँ निकै साँघुरो छ । १८ घण्टासम्म ड्युटी पर्छ, बस्ने ब्यारेक छैन, खाना खाने ठाउँ गतिलो छैन, शौचालय गतिलो छैन । निकै अप्ठ्यारोमा गुजारा चलाएका छौँ । यो मुख्य नाका हो, यहाँबाट धेरै ठाउँमा गाडीहरु आउजाउ गर्छन्,’ भुजेलले भने, ‘कहिलेकाहीँ आपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्तिलाई समाएर होल्ड गर्ने ठाउँ पनि छैन । घर पनि भत्किन थालेको छ । कति बेला के घटना हुन्छ भन्ने थाहै हुँदैन । जसोतसो मिलेर बस्दै आएका छौँ, माथिल्लो निकायमा पनि बारम्बार जानकारी दिएका छौँ ।’

निसीखोला गाउँपालिका-५ निसीमा रहेको प्रहरी चौकीको अवस्था पनि निकै दयनीय छ । निसी प्रहरी चौकी निसीखोला किनार छेउमै रहेको सयौँ वर्ष पुरानो भवनबाट सञ्चालित छ ।

दुई तले ढुङ्गा माटोले बनेको उक्त घर जीर्ण बनेको छ । द्वन्द्वकालमा यस प्रहरी चौकी विस्थापित भएको थियो । शान्ति सम्झौतापछि पुनःस्थापित भएको थियो ।

यस क्षेत्रमा केही वर्ष अगाडिसम्म लडाइँ, झगडालगायत अन्य नकारात्मक गतिविधिहरु निकै हुने गरेको स्थानीय बताउँछन् । द्वन्द्वकालमा कैयौँ पटक प्रहरीमाथि कुटपिट हुनाका साथै चौकी नै कब्जा भएको थियो ।

पछिल्लो समय समुदायमा जनचेतना वृद्धि भएपछि यहाँ नकारात्मक गतिविधि हुन छोडेका प्रहरी चौकी प्रमुख एवं प्रहरी सहायक निरीक्षक भोजबहादुर गुरुङले बताए ।

‘खोला छेउमा रहेको चौकीमा कार्यरत प्रहरीहरु वर्षातको समयमा प्रयाजसो जागराम बस्ने गर्छन् । निसीखोला उर्लेर आयो भने चौकीको छेउमा भल आउँछ । केही वर्ष अघि स्थानीयले तटबन्धन गरे पनि निसीखोलामा बाढी आउँदा बाँधले छेक्न सक्दैन”, उनले भने ।

हिउँदको समयमा समस्या नपरे पनि वर्षातमा निकै दुःख भोग्नु पर्ने प्रहरी सहायक निरीक्षक गुरुङले बताए । उनले ठूलो पानी परेमा घर चुहिने हुँदा त्रिपाल हालेर बस्नुपर्ने अवस्था रहेको बताए । हिउँदको समयमा समस्या नभएको भन्दै वर्षातमा ज्यानै जोखिममा पर्ने खतरा रहेको उनको भनाइ छ ।

‘यो घर दुई/तीन सय वर्ष पुरानो रहेछ, मर्मत सम्भार गर्न सक्ने स्थिति पनि छैन । ठूलो पानी पर्ना साथ चुहिने गर्छ, त्रिपाल नहाली बस्नै सकिँदैन’, प्रहरी सहायक निरीक्षक गुरुङले भने, ‘बर्खामा खोलाले ठूला-ठूलो ढुङ्गामुढा बगाएर ल्याउँछन्, ती ढुङ्गामुढा भित्रै आउँछ कि भन्ने डरले रातभर उठेर बस्नु पर्छ, दुई तलाको माटोले बनेको घर पुरानो भएर होला धुलो खसी रहन्छ । माथिल्लो निकायबाट सहयोग भए त भवन बन्ने थियो, अहिलेसम्म जग्गाको प्रक्रियामा छौँ ।’

उनका अनुसार प्रहरी चौकीका लागि वडा नं ५ को  मधुबाङमा जग्गा व्यवस्थापन भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कँडेलले जिल्लाको धेरै ठाउँमा रहेका चौकीको आफ्नै भवन नभएको बताए ।

मालढुङ्गा प्रहरी चौकी बढी संवेदनशील ठाउँमा भएकाले यसको व्यवस्थापनका लागि बागलुङ नगरपालिका र बागलुङ कालिका भगवति गुठी व्यवस्थापन समितिसँग छलफल भइरहेको उनले जानकारी दिए ।

प्रहरी चौकीको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुने भन्दै जग्गा व्यवस्थापन र भवनका लागि पहल भइरहेको उनको भनाइ छ ।

‘भवन बनाउनका लागि निश्चिम मापदण्डको जग्गा आवश्यक पर्दछ । मापदण्ड विपरीतको जग्गामा कुनै पनि सरकारी भवन बनाउन नमिल्ने हुँदा अहिले जिल्ला प्रहरी कार्यालय मातहतका धेरै चौकीको आफ्नै भवन र जग्गा छैन । त्यसको व्यवस्थापनमा लागिरहेका छौँ’, प्रहरी उपरीक्षक कँडेलले भने,‘मालढुङ्गा चौकीका लागि नगरपालिका र गुठी व्यवस्थापनसँग समन्वय गरिरहेका छौँ । यहाँ व्यवस्थित चेक पोस्ट र सिसी टिभी राख्ने योजना पनि बनाएका छौँ ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button