पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभा सचिवालयमा उनले विश्वासको मतको प्रस्ताव पेस गर्ने जानकारी गराइसकेका छन् । उनको विश्वासको मतको प्रस्ताव कार्यसूचीमा चढिसकेको सचिवालयले जनाएको छ ।
आज दिउँसो ३ बजेका लागि बैठक डाकिएको हो । एमाले र माओवादीले संसदीय दलको बैठक बसेर मुख्यमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । दुबै पार्टीको शनिबार सम्पन्न बैठक संसदीय दलको कार्यालयमा बसेको हो ।
माओवादीले पनि सातै सांसदलाई ह्वीप जारी गरेको प्रमुख सचेतक कुसुम बुढाले जानकारी दिइन् ।
यसैबीच गण्डकीमा निर्णायक शक्ति मानिएको राप्रपाको सरकारलाई समर्थन नगर्ने अडान यथावत छ । प्रदेश स्तरीय नेताहरुले विश्वासको मत दिन सक्ने संकेत गरिरहँदा केन्द्रबाट कुनै निर्णय भएको छैन । नेताहरुले केन्द्रकै निर्णय कुरेर बसेको बताइरहेका छन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले आजैका लागि दलको बैठक बोलाएको छ । बैठकबाट मुख्यमन्त्री अधिकारीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्ने कांग्रेसको तयारी छ ।
गण्डकीको संसद ६० सिटको छ । जसमा सत्ता गठवन्धनमा एमालेको २२, माओवादी केन्द्रको सभामुखसहित आठ सांसद र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात दीपक मनाङ्गे छन् । हालसम्म विपक्षमा कांग्रेस २७ र राप्रपा दुई सांसद छन् ।
गण्डकीमा माओवादीका कृष्ण धिताल सभामुख छन् । सर्वोच्च अदालतको पछिल्लो फैसलाले गण्डकीको बहुमत ३० कि ३१ भन्नेमा विवाद छ ।
अधिकारी सरकार अदालतको फैसलालाई टेकेर अघि बढ्ने मनस्थितिमा छ । जसमा एमाले २२, माओवादी केन्द्र ७ र स्वतन्त्र सांसद मनाङे गरी ३० हुन्छ र अधिकारी सरकारलाई टुपुक्क बहुमत पुग्छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution