
पोखरा । प्रहरीले मरेका खसी काट्दै गरेको अवस्थामा पोखराबाट २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखराको खसीबजार स्थित मोडेल सप्लायर्सबाट सोमबार राती मरेको खसीको ५४ केजी मासुसहित उनीहरूलाई पक्राउ गरेको हो ।
मोडेल सप्लायर्समा मरेका खसी ल्याएर काट्दै गरेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा हानी मासुसहित २ कामदारलाई नियन्त्रणमा लिएको हो ।
मरेको खसी काटेर पिस पार्दै गरेको अवस्थामा प्रहरी पुगेपछि सप्लायर्सका संचालक भागेका थिए । प्रत्यक्षदर्शी अनुसार प्रहरीलाई छल्दै सप्लायर्सको पछाडिको भागबाट संचालक भागेका हुन् । उक्त स्थानमा संचालक अशोक श्रेष्ठ र सुशील भण्डारीले मोडेल सप्लायर्स र पोखरा लाइभस्टक एण्ड कृषि फार्म संचालन गर्दै आएका छन् ।
मरेको खसीको मासु काट्दै गरेको अवस्थामा मासुसहित २ कामदार सोमबार राति ९ बजे पक्राउ परेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए । उनीहरूलाई कालोबजारी ऐन अन्तर्गत कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको डीएसपी बस्नेतको भनाई छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट आवश्यक कारबाही थालेर बरामद मासुलाई खाडल खनेर पुरिने उनले बताए ।
सप्लायर्स संचालकले पाल्पाको आर्य भन्ज्याङबाट १३ वटा खसी पोखरा ल्याएका थिए । बाटोमा ८ वटा खसी मरेपछि घाँटी रेटेर पोखरा पुर्याएको जानकारी आफूले पाएको सप्लायर्सलाई खसी पठाउँदै आएका कृष्ण रानाले बताए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।