
पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ स्थित विश्व शान्ति स्तूपा नजिक बुधबार दिउँसो भएको नगर बस दुर्घटनामा २० जना घाइते भएका छन्।
ग १ ख ३८८६ नम्बरको बस पुम्दीकोटबाट छोरेपाटनतर्फ जाँदै गर्दा करिब १:३० बजे शान्ति स्तूपाको पार्किङ क्षेत्रभन्दा केही माथि सडकमा पल्टिएको हो।
बसमा करिब २५ देखि २६ जना यात्रु सवार थिए। प्रहरीका अनुसार २० जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर छ।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा ल्याइएको छ। प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएको कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।
स्थानीयका अनुसार रिजर्भ गरिएको बसमा भारतीय पर्यटक सवार थिए। प्रहरीले घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ।