अब पोखरामा फेवातालमाथि नै प्याराग्लाइडिङमा उडन पाइने

पोखरा । साहसिक पर्यटकका लागि पहिलो रोजाइमा पर्दै आएको पोखराको प्याराग्लाइडिङको अवतरण अबदेखि फेवा किनार मै  हुने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएबाट पामेमा पुगेको अवतरण क्षेत्र  पुरानै ठाउँमा फर्किएको हो । नेपाल नागरिक उड्न प्राधिकरण (क्यान) ले अनुमति दिएसँगै अबबाट प्याराग्लाइडिङको टेण्डम उडानको अवतरण फेवा किनारको खपौदीबाट हुने नेपाल हवाई खेलकुद संस्था ‘ना’ का अध्यक्ष अनिल केसीले बताए ।

क्यानले पोखरामा प्याराग्लाइडिङ गर्ने उडानको तालिकामा समेत थप अनुमति दिएको छ । यसअघि पोखरामा दिउसो ३ बजेसम्म मात्र उडान हुँदै आएकोमा अब ४:३० सम्मको लागि अनुमति प्राप्त भएको अध्यक्ष केसीले बताए ।

पुरानै ठाउँबाट अवतरण र समय समेत थप प्राप्त भएसँगै प्याराग्लाइडिङ व्यवसायीहरूको संस्था ‘ना’ र पाइलट क्लबले संयुक्त रूपमा बुधवार नयाँ एयरस्पेस र सुरक्षाका बारेमा अभिमुखीकरण कार्यक्रम गरेका छन् । पर्यटन विकासमा प्याराग्लाइडिङको भूमिका विषयमा कार्यक्रममा चर्चा गरिएको थियो ।

पोखराका मेयर धनराज आचार्यले पोखराको पर्यटनको मेरुदण्डको रूपमा रहेको प्याराग्लाइडिङको अवतरण क्षेत्र पुरानै स्थानमा फर्किएको भन्दै यस दिनलाई खुसी साट्ने दिनको रूपमा लिनुपर्ने बताए । पोखरामा प्याराग्लाइडिङको उडान पश्चिम तर्फ धकेलिँदै जाँदा व्यावसायिक उडानमा कमी हुँदै आएकोमा अब भने पुरानै अवस्थामा फर्किने विश्वास उनले व्यक्त गरे । प्याराग्लाइडिङको सोलो तर्फको उडानसमेत बिस्तारै सुरु हुने उनको भनाई थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एटीसी प्रमुख योगेन्द्र कुँवरले क्यानसँगको छलफल र अध्ययन पश्चात् ताल किनार खपौदीमा प्याराग्लाइडिङ उडानको अवतरण अनुमति प्राप्त भएको भन्दै सुरक्षाको विषयलाई सधैँ प्राथमिकतामा राख्न आग्रह गरे । प्याराग्लाइडिङको सोलो उडान, उडान क्षेत्र आदिका बारेमा समेत थप अध्ययन भइरहेको उनले बताए ।

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भटराईले पोखराको पर्यटनमा प्याराग्लाइडिङको महत्वबारे चर्चा गर्दै अबको युग सूचना प्रविधिको युग भएकाले डिजिटल माध्यमबाट प्रचार प्रसारमा लाग्नुपर्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले राज्यले करोडौँ लगानी गरेर संचालन गरेका प्रवर्धनका कार्यक्रम भन्दा प्याराग्लाइडिङले पोखरा र समग्र नेपालको प्रवर्धन गर्दै आएको बताए । पोखरामा प्याराग्लाइडिङको सोलो उडानको पुनः संचालन अनुमति छिटै दिन उनले माग समेत गरे ।

पूर्व पर्यटन बोर्ड सदस्य बासु त्रिपाठीले पोखराको प्याराग्लाइडिङ विश्वकै उत्कृष्ट अन्तर्गत पर्ने भएकाले यहाँको प्याराग्लाइडिङको महत्त्व छुट्टै रहेको बताए । नेपालकै अन्य भूभागमा समेत प्याराग्लाइडिङको उडानको सम्भावना खोजेर उडान समेत सुरु गरिएता पनि पर्यटकको रोजाइमा पोखराकै प्याराग्लाइडिङ पर्ने गरेको उनले बताए । पानी माथिको प्याराग्लाइडिङ उडानलाई सुरक्षित मानिने र पोखराको आकासको थर्मलसमेत प्याराग्लाइडिङ उडानमा विश्वमै उत्कृष्ट रहेको उनको भनाई थियो ।

गण्डकी प्रदेश प्रेस रजिस्टार विमला भण्डारीले पोखराको प्याराग्लाइडिङ अहिलेको अवस्थासम्म आई पुग्नमा पोखराका संचारमाध्यम र पर्यटनमा कलम चलाउने पत्रकारको अहम् भूमिका रहेको बताइन । पोखराको प्याराग्लाइडिङलाई पुरानै अवस्थामा फर्काउन सबैले साथ र समर्थ गरेको उनको भनाई थियो ।

पोखरा १८ का वडा अध्यक्ष शिवराज तिमिल्सिनाले पोखराको प्याराग्लाइडिङ उडानका लागि जस्तोसुकै सहयोग गर्न पनि वडा र वडावासी तयार रहेको बताए ।

नाका वरिष्ठ उपाध्यक्ष खेमराज आचार्यले विगतमा प्याराग्लाइडिङ उडान क्षेत्र पश्चिम तर्फ स्थानान्तरण हुँदा व्यवसायी र पाइलट दुवै पलायन भएको भन्दै चिन्ता व्यक्त गरे ।

अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशिक्षक योगेश बहादुर भट्टराई, नाका प्राविधिक उपाध्यक्ष विजय गौतम र प्रशिक्षक विमल अधिकारीले नयाँ एयरस्पेस, सुरक्षा, पर्यटकलाई गर्नुपर्ने व्यवहार र अनुशासनको विषयमा प्रशिक्षण दिएको ‘ना’का महासचिव बलराम आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button