
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीबाट नयाँ नागरिकतासहितका थप सेवा संचालन हुने भएको छ ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै भदौ २४ गतेको तोडफोड, आगजनी तथा लुटपाटलगायतका घटनापछि केही दिन प्रभावित बनेको सेवा अब क्रमिक रूपमा विस्तार हुने जनाएको छ।
कार्यालयका अनुसार बुधबारदेखि नयाँ नागरिकता सम्बन्धी सेवा, राहदानी वितरण सेवा र भारतीय पेन्सन सिफारिस सम्बन्धी सेवा सञ्चालनमा आउने छन्। राहदानी वितरण सेवा अन्तर्गत राहदानी विभागबाट पठाइएका राहदानीबारे “Your Passport is ready to collect” भन्ने SMS प्राप्त भएकाले मात्र सेवा लिन कार्यालय सम्पर्क गर्न आग्रह गरिएको छ।
यस्तै, असोज २ गते प्रकाशित सूचनाअनुसार, इलाका प्रशासन कार्यालय लेखनाथबाट राष्ट्रिय परिचयपत्र वितरण, (CCIMS) मा नभिडेका नागरिकता, राहदानीका लागि फोटो खिच्ने, संघ संस्था, नाबालक विवरण अद्यावधिकजस्ता कार्य शीघ्र शुरु गरी जानकारी गराउने कार्यालयले उल्लेख गरेको छ।