
काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिइएको छ। एकै घटनासम्बन्धी अनुसन्धानका क्रममा केही समयको अन्तरालमै दुवैलाई पक्राउ गरिएको हो ।
गत भदौ २३ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा १९ जना किशोरहरूको ज्यान गएको घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।
उक्त घटनापछि सरकारद्वारा गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन गरिएको थियो। आयोगले उच्चस्तरीय जिम्मेवारीमा रहेका व्यक्तिहरूमाथि फौजदारी अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
शुक्रबार बसेको बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् बैठकले आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै सक्रिय बनेको प्रहरीले शनिबार बिहानै रमेश लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको थियो। त्यसको केही समयपछि केपी शर्मा ओलीलाई पनि नियन्त्रणमा लिइएको हो। भक्तपुरको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले ओलीलाइ पक्राउ गरेको हो । ओली र लेखक दुवैलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । शनिबार बिहान भक्तपुरबाट पक्राउ गरे लगत्तै दुवै जनालाई परिसरमा लगिएको हो ।
भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर केही किशोरहरूको मृत्यु भएको थियो। सो समयमा केपी शर्मा ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए। घटनापछि बढ्दो दबाबका बीच लेखकले २३ गते र ओलीले २४ गते पदबाट राजीनामा दिएका थिए।





