पोखरामा बालिकाहरुलाई अवान्छित कार्यमा लगाउने ८ जना पक्राउ

पोखरा । बालिकालाई प्रयोग गरी अवान्छित गतिविधि सञ्चालन गरेको आरोपमा कास्की प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।  प्रहरीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न स्पा तथा ब्युटी पार्लरहरूमा गरिएको अनुगमनका क्रममा यस्तो गतिविधि फेला परेको हो।

कास्की प्रहरी प्रवक्ता, डीएसपी हरी बहादुर बस्नेतका अनुसार मंगलबार दिउँसो करिब ४ बजे जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा खटिएको टोलीले छड्के अनुगमन गर्दा ति व्यवसायमा अवान्छित गतिविधि सञ्चालन गरेको  र बालिकाहरुलाई काममा लगाइएको पाइएको थियो।

यस प्रकरणमा पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी न–१० घर भई हाल पोखरा–६ लेकसाइड बस्ने वर्ष ४७ का होम बहादुर बुढाथोकी, पोखरा –११ घर भई  पोखरा ६ बस्ने वर्ष २४ की जेनिसा श्रेष्ठ सुनार, चितवन भरतपुर –६ गीतानगर घर भई हाल पोखरा–६ बस्ने वर्ष २३ की सर्मिला परियार र स्याङ्जा फेदीखोला –४ घर भई हाल पोखरा–६ बस्ने वर्ष ४२ का सुरेश विक रहेका छन् ।

यसै गरी गोरखा गण्डकी –८ घर भई हाल पोखरा–६ बस्ने वर्ष २७ का जीवन श्रेष्ठ, रुपन्देही मर्चावारी –७ घर भई हाल पोखरा–६ बस्ने वर्ष ३० की अप्रिना खातुन, मकवानपुर ईन्द्रसरोवर –२ घर भई हाल पोखरा–६ बस्ने वर्ष ४४ का राजु थापा मगर तथा कास्की पोखरा –१७ ड्यामसाइड बस्ने वर्ष २८ का सरोज सुनार रहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीले अनुगमनका क्रममा फेला परेका बालबालिकालाई उद्धार गरी संरक्षणका लागि सम्बन्धित संस्थामा पठाएको जनाएको छ भने वयस्क कामदारहरूलाई अभिभावक तथा आफन्तको जिम्मा लगाइएको जानकारी दिएको छ।

पक्राउ परेका सबैमाथि सम्बन्धित कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button