पोखराको सेदीबाट मध्यरातमा विदेशीसहित ३८ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका–१८ स्थित सेदीमा सञ्चालन भइरहेको ट्रान्स पार्टीबाट संचालकसहित ३८ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

गएराति करिब १:३० बजे जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको संयुक्त टोलीले छापा मारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उक्त पार्टी बमेन्द्र पुन र भारतीय नागरिक अनुभव शर्माले आयोजना गरेको प्रहरीले जनाएको छ।

कास्की प्रहरी प्रवक्ता, डिएसपी हरी बहादुर बस्नेतका अनुसार घटनामा संलग्न व्यक्तिहरूमध्ये तीन बिदेशीसहित आठ जनामाथि लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ । चार जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको डिएसपी बस्नेतले जानकारी दिए । उनका अनुसार बाँकी २६ जनालाई आवश्यक सोधपुछपछि अभिभावक तथा आफन्तको जिम्मा लगाइएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये आठ जनाको साथबाट एमडीएमए, चरेशजस्तो देखिने कालो पदार्थ, कोकिनजस्तो देखिने सेतो धुलो, खात, आइस एम्फेटामिन, म्याजिक मशरुम, पेपर एलएसडी तथा झोल अवस्थामा रहेको एलएसडी लगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ।

प्रहरीले बरामद गरेका सामाग्री

पक्राउ परेका मध्ये ब्राजिलका नागरिक ४८ वर्षीय चार्ल्स गौभा, भारतीय नागरिक ३१ वर्षीया श्रृष्टी चन्द र ३५ वर्षीय अनुभव शर्मालाई लागूऔषध मुद्दा चलाइएको डिएसपी बस्नेतले उल्लेख गरेका छन्  । यस्तै पोखरा–१८ २४ वर्षीय आशिष दर्जी, पोखरा–१८ सेदिबगर बस्ने ३२ वर्षीय बमेन्द्र पुन, काठमाडौं बालुवाटार बस्ने २१ वर्षीय निकुञ्ज कार्की, राप्ती – ५ घर भएका २९ वर्षीय सौरभ मोहरा र पोखरा–६ का २७ वर्षीय विशाल परियार माथि पनि लागूऔषध मुद्दा चलेको छ ।

पोखरा – ९ का ३१ वर्षीय सक्षम कोइराला र ३१ वर्षकै रोशन अधिकारी, पोखरा–६ का २८ वर्षीय विवेक परियार तथा दाङका २६ वर्षीय सौरभ भनिने लोकबहादुर घर्तीमगरमाथि प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाइएको  डिएसपी बस्नेतले जानकारी दिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button