पोखराका निजी अस्पतालले नियमित स्वास्थ्य सेवा दिएका छन् : अध्यक्ष पालिखे

पोखरा । निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकी प्रदेशले यस क्षेत्रका निजी अस्पतालले इमर्जेन्सी र फिभर क्लिनिक मार्फत बिरामीहरुलाई नियमित सेवा सेवा प्रदान गर्दै आएको बताएको छ ।

कोरोना संक्रमणका कारण सिर्जित लकडाउन पछी यहाँका अस्पतालहरुले प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध नगराएको भनि गुनासो आइरहेका बेला कठिनाइका बीच अस्पतालहरुले नियमित सेवा प्रदान गरिरहेको अफिन गण्डकी प्रदेश अध्यक्ष अशोक पालिखेले बताए ।

“पोखरा लगायत यस क्षेत्रका अस्पतालहरुले इमर्जेन्सी मार्फत सम्पूर्ण रोगहरुको जाँचको सुबिधा उपलब्ध गराइरहेका छन्”, अत्यावश्यक अपरेसन, आइसियु, एनआइसियु, क्याबिन लगायतको सेवा लगायतको सेवा दिएकै छन्, उनले भने, “ सबै अस्पतालले फिभर क्लिनिक मार्फत ज्वरो नाप्दै आएका छन् , सेवा नदिएको भन्नु हल्ला मात्र हो ।“

“सरकारले ओपीडी बन्द गराएको छ, पिपिई, डिजिटल थर्मोमिटर गन र एन ९५ जस्ता सुरक्षीत माक्सको अभाव छ तरपनि हामीले निरन्तर बिरामीलाई सेवा प्रदान गरेका छौ”, उनले थपे ।

पिपिई लगायतका अत्यावश्यक स्वास्थ्य उपकरणको अभाव भयो, पैसा तिरेर भएपनि किन्छौ व्यवस्था हुनुपर्यो भनेर भन्दा महानगर र प्रदेश सरकारले चाँसो नदेखाएको पालिखेले आरोप लगाए।

कठिन परिस्थितिमा सेवा प्रवाह गर्ने क्रममा कहिँ कमी कमजोरी भएको भए सुझाव दिनुपर्ने ठाउँमा स्वास्थ्यकर्मीको मनोवल घटाउने काम भएको पालिखेको भनाई छ ।

यस क्षेत्रका अस्पतालले चैत २६ देखि वैशाख १ गतेसम्म इमर्जेन्सीमा १ हजार ७ सय ८० जनालाई फिभर क्लिनिकमा ४ सय ७० जनालाई सेवा प्रदान गरेको र अत्यावश्यक देखिएका १ सय ४३ जनाको सफल अपरेसन गरेको अध्यक्ष पालिखेले जानकारी दिए ।

यहाँका अस्पतालले ६ सय ३३ पटक एम्बुलेन्स सेवा प्रदान गरेको अध्यक्ष पालिखेको भनाइ छ । पालिखेले पोखराका १५ वटा निजि अस्पताल र प्रदेशका अन्य जिल्लाका अस्पतालले सो सेवा प्रदान गर्दै आएको जनाएका छन् ।

लकडाउन पछी यहाँका अस्पतालले सेवा दिन नमानेको, अस्पतालमा डाक्टर नभेटिने गरेको तथा अस्पतालहरुले बिरामीलाई राम्रो व्यवहार नगरेको जस्ता गुनासो सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट सार्वजनिक हुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button