गाडी र फुटपाथले विश्वसम्पदा बौद्ध क्षेत्र अस्तव्यस्त

पोखरान्युजडटकम, १९ असार –

विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा पर्यटक आकर्षण गर्न पैदलमार्गका लागि बिछ्याएको ढुङ्गामा सवारी साधन गुडाउँदा मार्ग अस्तव्यस्त बनेको छ।

ढुङ्गामाथि दैनिक मोटरसाइकल, ट्याक्सी र कार गुडाउँदा आकर्षक ढुङ्गाको पैदल मार्ग भत्किन थालेको छ । बौद्धमा पर्यटकलाई पैदल हिँड्ने मार्गको निर्माण गरी गुम्बालगायत ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण स्थलको अवलोकन गराएर विश्वमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०६४ मा ढुङ्गा बिछ्याइएको थियो । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध स्तूपदेखि महाङ्काल, फूलबारी, धाराटोल, होल्गाटोल र तीनचुलेसम्मको क्षेत्रमा ढुङ्गा बिछ्याएको थियो ।

ढुङ्गा बिछ्याइएका क्षेत्रमा सुरुमा सवारी साधन गुडाउन निषेध गरिए पनि पछि स्थानीयवासीले घरमा जान पैदल जानुपर्ने भनी विरोध जनाएपछि नियम मिचिएको समितिकी कार्यकारी निर्देशक फुबुयाङ्जी लामाले राससलाई जानकारी दिनुभयो ।

“पर्यटकलाई आकर्षण गर्न बनाइएको पैदल मार्गमा सवारी हिँडाउने, फुटपाथमा पसल चलाउने गर्नाले विश्वसम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ, फुटपाथका पसल हटाउन काठमाडौँ महानगरपालिकाले सक्रियता नदेखाउँदा सम्पदा क्षेत्र अस्तव्यस्त हुने गरेको छ”– उहाँले भन्नुभयो ।

महानगरको नगर प्रहरीले कहिलेकाहीँ पसल हटाए पनि प्रायः वास्ता नगरेको स्थानीयवासी बताउँछन् । सम्पदा क्षेत्रमा मोटरसाइकल जथाभावी पार्किङ गरिँदा सवारी अबरुद्ध हुने गरेको छ । वर्षामा तीनचुले र फूलबारीदेखिको भेल आउँदा स्तूप डुबानमा पर्ने गरेको स्थानीयवासी टासीकुमार लामाले बताउनुभयो ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की नगर प्रहरी १०२ मात्र भएकाले महानगरमा फुटपाथ व्यवस्थित गर्न नसकिएको बताउनुहुन्छ । “नगर प्रहरी थप गर्दैछौँ, थप भएपछि महानगरको फुटपाथ व्यवस्थित हुनेछ”– उहाँले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button